खडेरीको खेती

लामै खडेरी प-यो धरतीमा । छारो उडेको छ चारैतिर । सूर्य मलिन छ मानिसको दिनचर्या देखेर । मनका मलिला फाँटहरू रुखिई सके । खनजोत र मलजलको मेलोमेसो छैन । विचारको बिउ जोगिने छाँट छैन । स्थिर छैन मूल्य र मान्यता । विचलनको बहार आएको छ आजभोलि । इमान, जमान र स्वाभिमान स्खलित हुँदैछ । विचारको बिउमा किरा लागिसक्यो यतातिर । त्यसैले तारा रोपेर आकाशमा विचारको खेतीगर्ने ताकमा छ सन्ते । तारा रोपेर जुन फलाउने विश्वास जागेको छ उसभित्र । शीत पस्केर उदाउँछ चन्द्रमा ताराहरूको बीचमा । बुद्धको सन्देश सुनाउँछ ताराहरूलाई । जुन कहिले थाकेन । कहिले विचलित भएन । एकनाश बगेको छ शान्त निल गगनमा समुद्रझै महासागर भेट्न ।

रुखो राजनीतिको अनौं समाएर दिनरात बाँझो खेतको डल्ला पल्टाउँदा पल्टाउँदै जुनी वित्यो । नयाँ सिर्जनाको पखेरोमा डढेलो लाग्यो । खेतबारी रुखियो । रगत पसिनाले जति सिंचन गरेपनि राजनीतिको खेतीपाती त्यति सप्लाएन सन्तेको बारीमा । बाली थन्काउने बेला कहिले असिनाले खाइदिन्छ कहिले हावाहुरीले नोक्सान गर्छ । ‘कुन त खेती फट्याड्ग्राले मेटी’ भन्छन् । पारीबाट फट्याड्ग्रो फड्केर आउँछ । बाली नोक्सान गरिदिन्छ । राजनीतिको सौन्दर्यानुभुति गर्न अझै सकेन सन्तेले । सुनौलो बिहानको रङ्गिन सपना साँचेको छ सन्तेले ।

पश्चिमी हावा चल्यो । विचलनको बर्षाद भयो धरतीमा । खडेरीले खाएको खेतबारीलाई विचलनको बर्षादले बढारि दियो । सिर्जनाका नयाँ पल्लवित कोपिलामा पश्चिमा परागको संचार भयो । विचलनको फल लाग्यो । नयाँ स्वाद चाखेर पछिल्लो पुस्ता रमायो । विचार म-यो । विवेकमा खिया प-यो । निष्ठाको भाउ घट्यो । सन्ते विलखमन्दमा प-यो ।

यो मिसावटको दुनियाँ । विज्ञापनको बजार । ‘बोल्नेको पिठो बिक्छ नबोल्नेको चामल बिक्दैन’ भन्छन् । पूँजीवादमा माक्र्सवादको कलमी हुन थालेछ आजभोलि नयाँ स्वादको खोजीमा । पूँजीवादको विषवृक्षमा समाजवादको अमृतफल फलाउने सपना बाँडिएको छ भोलाभाला जनतालाई । लोकतन्त्रको वाली लगाएर समाजवाद फलाउने कथा सुनाइन्छ साँझबिहान । सन्तेले निकै हण्डर खायो ज्ञान, गुन र उपदेश सुन्नका लागि । बाँचकीको विश्वासमा बसिभूत भएर लाग्यो जीवन पर्यन्त र दिव्यज्ञान प्राप्तीमा । असली विचारको बिउ भुटिन थालेको थाहा भयो । असली बिउको प्याटेन्टराइट अरुकै हातमा परिसकेको पत्तै भएन मानिसलाई ।

‘हुलचालमा जीउ जोगाउनु अनिकालमा बिउ जोगाउनु’ भन्छन् बुढापाकाहरू । तारा रोपेर चन्द्रमा फलाउन अन्तरिक्ष तिर साइत गर्नुछ सन्तेलाई । खडेरीले खाएको धरतीमा मुसलधारे पानी पार्नुछ एकपटक मेरो धरतीको छाती भिजाउन । आखिर पानी पर्ने आकाशबाटै हो । बादलको बथानलाई उतै आकाशमा बटुलेर विचारको फाँटमा बर्षा गराउनुछ । खडेरीले खाएको खेतमा बिउ बुढिइसक्यो विचारको । यो साल पनि मनसुन आउने छाँट छैन । उष्ण शहरमा तातो हावा चलको छ । लु प्रदुषणको ।

प्रदुिषत जीवाणुले विचारलाई थला पारेछ । मन मैलिए । बाक्लो बाखर लाग्यो विचार राख्ने ठेकीमा । स्याउँ स्याउँ किरा परेझैं मासिन सहरमा पोखियो । दर्शन, सिद्धान्त र विचारका कितावहरू काटी दियो किराले । किरा दार्शनिक बन्यो मानिस फोहोर खाने किरा । खानको लागि बाँचेका किराहरू । खानु सिवाय किराले अरु जानेन । विना विचारको मानिस । विचार विकाउ माल बन्छ । सन्ते रमिते बन्छ शहरको रमझममा ।

मेरो युग विधवाको बाँझो कोख साँचेर बाँचेको छ आजभोलि । श्रृंगारपटार निकै छ । चिटिक्क परेकी छन् उनी विचरा । मनभरी पीडा बोकेर बगेको छ समय । एउटा डरलाग्दो पीडा । व्यक्त गर्न सक्दैन युगले । बर्साउतेहरूले उपहास गर्छन् पिठ्युँ पछाडि । गर्भादान हुन सकेन मेरो समयसित । ऋतुदानको समय एकपटक आउँछ । झरेर जान्छ प्रत्येक मौसममा । नार्मद युग । नपुंशक युगका हामी मलामी । मलाई मलामी बन्नु छैन स्खलित समयको । विचराको स्खलन इमान, जमान र स्वाभिमानको स्खलन नैतिकता र निष्टाको स्खलन ।

माटोले उन्नत जातको वीउ खोजेको छ । उन्नत विचारको खेतीका लागि प्रांगारिक मल चाहियो माटोलाई । अर्गानिक सागपात अन्न उब्जाउनु छ मेरो माटोमा । अवत प्रसव पीडाहुनु पर्ने बाँझो धरतीलाई । युगयुग कुर्नु पर्ने रहेछ विचार र दर्शनको नवजात शिशुको अनुहार हेर्न । अझै कति बिघटन र विचलन सहने युगले । सन्तानको चिर हरण भएको देवकीले कति सहने ?

त्यसैले सन्तेले विश्वास गर्न छाडेको छ अरुको । जीवनमा धेरै हण्डर र धोका खाइसकेको छ उसले । नयाँ नयाँ अनुभव सगाल्न पाएकोमा खुसी पनि छ उ । सन्तेका सन्तान पनि उस्तै विचरा ! वाजे ठगिए । बाबु ठगिए । बवुरो सन्ते र उसका सन्तान पनि ठगिदै आएका छन् युग सित ।

यो आधुनिक र सभ्य शहर । शहरमा थुप्रिएको भिड । लुट र लुछाचुडीको होड वाजी चल्छ यहाँ । विजेताको इज्जत हुन्छ । शहर पसेको सन्ते रमिते बनेर टोलाउँ छ खेल हेरेर । वैँस लुछिएको छ । इज्जत खोसिएको छ । सत्य र न्यायको दाहसंकार हुन्छ आर्या घाटमा । आफन्त बाट ठगिन्छ आफन्त । इमान र इज्जत विष्णुमतीमा बगको हेरिरहेछ सन्ते किनाराको साछी बनेर । यो ठगहरूको दुनियाँ । छिः कति परित्यक्तत र तिरस्कृत संस्कार । लाज, सरम र इज्जत शब्दकोश बाटै हराए छ शहर वजार तिर ।

यो नक्कली दुनियाँ । नक्कली मालको मारामार छ वजारमा । मान्छे स्खलित हुदै छ आचार विचार र विवेक बाट । छलीको महिमा मण्डित हुने जमाना आए छ आज भोली । वाहुवलीको वजारले महत्व पाए छ । आँफै बाट टगिएको सोझो सन्ते खिन्न मन बोकेर सडक किनार बाट रमिता हेरिरहेछ । विश्वसघातको झापड सहन गाह्रो भएको छ उसलाई । भारी मन बोकेर भौतारिदै छ असल साथीको खोजीमा । साधु बनेर साखुल्ले बन्छन् अपराधको ढाक छोप गर्न । उल्टै खिसिछिउरी र टिकाटिप्पणी गर्छन् । अपजस आइलाग्छ उसलाई । चुपचाप सहिदिन्छ । प्रतिवाद गर्न चाहादैन छलीको इजलासमा । पाखण्डीको अदालत प्रति उसलाई विश्वास छैन । उसको सोझोपन र इमानदारी ठगहरूको सौदा बन्छ बजारमा । उसको नाम बेचेर मालामाल भए पर्दा पछाडि । त्यसैले सन्ते सोच्न थालेको छ आज भोली ।

कल्पनाको उडान भरेर सन्तेले संसार चहारेको छ । विश्व ब्रह्माण्ड सित परिचित हुन थालेको छ उ । शान्ति र मानव अधिकारको झण्डा राखेर हतियारको खेती हुन्छ ठूलो लोकतन्त्रमा भन्ने देख्नथाल्यो उसले । नस्लको लडाई लडेर सभ्यताको परिचय दिईदै छ । त्यसैले सन्ते चिन्तित र खिन्न छ बिचलित संसार देखेर ।

विचार सफा हुन्छ । विचलन मैलो र फोहोरी । ढल मिसिएको विष्णुमती झै बगेको छ विचलन । विचार रसिक र हराभरा हुन्छ वसन्तको बहार झै । विचार बर्सिन्छ रुप्सेको निरझरिणी झै अविराम गतिमा । विचार मानव जीवन हो । जीवन सधै सदावहार रसिक र सुन्दर हुन्छ विवेक शील मानिसका लागि । विचलित बिचार बोकेको जीवन रुखो र बाँझो हुनछ । विचार बाँझिएको छ । खियापरेको छ । भाउ सस्तिएको छ उपभोक्ताको वजारमा । अस्वस्थ विचारले थलापर्छ मानिस । विचारको विनिमय हुन्छ रोगी विचारको उपचारका लगि । विचार फगत उपभोगका लागि भन्ने दर्शनले बदल्ने र बदलिने बिज्ञान ओझेलमा पारेको छ ।

मौसम फेरिदै छ । जलवायु परिवर्तन हुदै छ । यो पतझर मौसम पुराना पातहरू झरिसकेका छन् । खिया परेका मनहरू बाट पुरानो विचार झरेन अझै । पुरानो नझरे सम्म नयाँ पात पलाउँदैन भन्छन् । नयाँ पालुवा लाग्ने छाँट छैन अझै । विकासमा विश्वास गर्छ विज्ञान । पात झरेको नाङ्गो रुख नयाँ परिधानको पर्खाइमा छ । यो पाञ्चभौतिक दुनियाँ । दर्शनको युग । विचारको उन्नत फल खोजेको छ आजको समयले । जन्मिन सकेन नयाँ विचार ।

यो माटो असल सन्तानको जन्मको पर्खाइमा छ । समय सालमा प्रसव पीडा नभएको होइन । पीडाले छटपटाइरहेछ समय । कति गर्भ तुहेर गयो हेराहेरै । यो भन्दा अरु पीडा अरु केहुन सक्छ ? मागेको जडौरी कोट कति टालेर लगाउने । आजित परियो । टालेको थाङ्नेकोटले इज्जत रहेन हाम्रो । हामी हेपियौ सप्पन्न छिमेकी बाट । बदल्ने आँट गर्न सकेन युगले । बदलिने हिम्मत गरेन हुतिहारा मानिस । अतितमुखी यात्राको साइत गरेर रमाइलो गर्छ राजनीति । उही थोत्रो विचलित विचार बोकेर राजनीति दौडिरहेछ सडकमा केही पाउनका लागि । उपभोक्ततावादको निस्कनै नसक्ने दलदलमा फस्दै छ मानिस रसातल तिर । विचलित युगको विचलित मान्छे ।

विचारमा विचलन, राजनीतिमा विचलन, सिद्धान्तमा विचलन विचलित हुदैछ विश्व । यो पतनको दिशा हो दर्शनको । विश्व परिवेश तीब्र गतिमा पतनको दिशामा अगाडि बढेको छ । वर्तमानको पतन, यथास्थितकिो पतन, एउटा युगको अन्त अनिबार्य छ । पुरानोको पतन नभए सम्म नयाँको उदय सम्भव छैन विज्ञानको नियममा । मनहरू विघटित हुदै छन् । समयको समुन्द्रमा बाँध बाँधेर नदीको प्रवाह रोकिदैन । समयको चक्र पछि फर्किदैन ।

विचलनको गर्भभित्र महान् सम्भावनाको सवल सन्तान हुर्किरहेको छ भन्ने कतिलाई थाहा होला ? विचलन पनि समयको उपज हो । युगको उपहार र प्रसाद हो । मानिस त्यसलाई ग्रहण गर्न बाध्य छ । जंगल हराभराहुन नयाँ पालुवा पल्लवित हुनै पर्छ । पुरानो पात झर्न शिशिर कुर्नै पर्छ । समयको सीमाभित्र कैद बनेको परिवर्तनलाई मानिसले तारतम्य मिलाउने मात्रै हो ।

दमनको पराकाष्टा मुक्ति हो । इसाइ लोकतन्त्रले युनानी दासताको अन्त गरेको इतिहास बोकेर हिडेका छौ हामी । इतिहास पनि पुरानो हुन्छ । आधुनियुगमा पुरानो इतिहाले काम दिदैन । विचलनको पराकाष्टा व्यबस्थित समाजको सिर्जना हो । एक जमानाको व्यवस्थित युग अर्को समयमा गञ्जागोल र अव्यवस्थित बन्छ । समयको चक्र यसरी नै चल्छ । रात झरे पछि उज्यालो हुन्छ । मौसम बदलिन्छ । मनसुन आउँछ । खडेरीले खाएको खेतवारीमा फेरि वहार आउँछ ।
२०७३/३/२५