घोडाघोडी तालको छेउमा उभिँदा

मेरो देश प्राकृत सम्पदाको देश । तराइ, पहाड र हिमालयको देश । हिमनदी र ताल तलैयाको देश । रारा र तिलिचोको गर्भमा स्वर्गको वास छ । फेवाको सौन्दर्य विश्व प्रसिद्ध छ । जैविक विविधताको देश । साँस्कृत सम्पदाको देश । सौन्दर्यको उत्कृष्ट बरदान मानिसका लागि मात्रै पर्यटकीय गन्तव्य रहेन छ । पशुपंक्षीका लागि पनि उत्तिकै आकर्षक र मोहनीको केन्द्र बनेको छ मेरो देश । हिमालयको पुछारतिरका सेफुक्सुण्डो, च्छोरोल्पा, गोसाइँकुण्ड, इम्जा क्षो समेतका तालहरूको अगाडि विश्वको शिर निहुरिएको छ । हाम्रा यी अनुपम ताल तलैयाको महत्वबारे हामीलाई भने थोरै मात्र थाहा छ ।

यही २०७३ बैशाख ८ गते विहान ६ बजेतिर धनगढी बजराबाट निस्कें । गर्मी मौसम । चारैतिर छारो उडेको छ । सूर्यले क्रमशः धरती तताउन थालिसकेको छ । तैपनि गाडीको रफ्तारमा झ्यालबाट छिरेको चिसो हावाले देह रसाएकै छ । अत्तरिया पुगेर लेखराज भट्टको घरमा छिरें । एक कप दूध पिएँ र निस्केँ । पश्चिमतिरको ५ दिनको यात्रा पुरा गरेर फर्किंदै छौं । अत्तरियाबाट गाडी पूर्व मोड्यो । कर्णाली पुगेर विसाउने उतै विहानको खाजा खाने र कोहलपुर खाना खाने योजना छ ।

गाडी करिब ५३ किलो मिटरको दुरी पुर गरेर घोडाघोडी नगरपालिका पुगे छ । साथीहरूले घोडाघोडी ताल आउँदै छ भने । मेरो ध्यान त्यता तानियो । कता छ ? कहाँ छ ? कत्रो छ ? बाटोबाट कति टाढा पर्छ ? भनेर एकै चोटी सोधें । सडक किनारमै छ भनेर साथीहरूले सुनाए । ताल हेर्ने उत्सुकता बढ्यो । झ्यालबाट उत्सुकता साथ बाहिर हेरे । तालको छेउपुगेपछि गाडी रोकियो । म हतारमा गाडीबाट झरें । ताल क्षेत्रमा प्रवेश गरें । तालको डिलमा उभिएँ । त्यसको चारैतिर आँखा लगाएँ । घोडाघोडी तालको यो भव्यतासित अहिले सम्म परिचित हुन नसकेकोमा मनमनै लज्जा बोध भयो ।
म यो बाटो धेरै पटक ओहोरदोहोर गरेको छु । घोडाघोडी तालको छेउबाट राजमार्ग दौडेको छ । मैले गाडीको झ्यालबाट आँखा बाहिर पोखेर दृश्यावलोकन गर्न विर्सेको पनि होइन । यतिपटक ओहोर दोहर गर्दा पनि मेरो आँखा र जानकारीमा यो क्षेत्रमा नपर्नु आफैमा अनौठो लागेको छ । कैलालीको पर्यटकीय क्षेत्रबारे सामान्यज्ञानको जानकारी राख्न सकेको भए पनि अज्ञानी हुनु पर्ने थिएन । जेहोस आज हेर्ने अवसर मिल्यो । यसैलाई धन्य मान्नु पर्छ ।

जेनेभा तालको फन्को मारेर रमाएँ । वर्माको राजधानी नापिाताओस्थित होटल परिसरको तालको किनारमा साँझ बिहान एक हप्तासम्म बसेर ढुंगा फालेँ । तरङ्ग र छाल हेरेर उतै टोलाएको केही समय मात्रै भएको छ । समुद्री किनारमा रहेको श्रीलंकाको एक प्रसिद्ध पाँचतारे होटल लाटिभियाको वार्दलीबाट घण्टौ सम्म किनारको पत्थरमाथी समुद्री छाल ठोकिएको हेरेर उतै हराएको थिएँ । वेलायत तिर वरालिदा डायनाको दरबार वरपरका तालमा विभिन्न प्रजातिका जलहाँस सैर गरेको देख्दा मन विछट्टै रमाएको विर्सन सक्दिनँ । राराको किनारमा एक रात जागराम बसे । रारा र पूर्णचन्द्रले लुकामारी खेलेको देखेर रमाएको थिएँ । किनारका ती रङ्गीविरङ्गी फूलहरूको वासनामा मोहित भएर रात बितेको बिर्सन सक्दिनँ । मलाई हिमाल, झरना, नदीनाला समुद्र र ताल तलैया विछट्टै मन पर्छ । तर आजसम्म घोडाघोडी ताल वारे केही जानकारी न हुनु र त्यसको फेरो मारेर आनन्दलिने अवसर नहुनु दुःखको विषय हो । मेरो छिपछिपे जानकारी भित्र भव्य तालको अवलोकन परेन छ ।

विहान ७ः४५ बजे घोडाघोडीको दक्षिण निकास नेर उभेर ताललाई क्यामरामा कैद गर्दै थिएँ । एकजना सेतो कमिज कालो पाइन्ट नेपाली टोपी लगाएको मझौला कदको मानिस झ्याप्पै अगाडि आएर परिचत मित्रले झै नमस्कार गरे । म अलिकति अलमलमा परे पनि विना विलम्व नमस्कार फर्काएँ । मेरो मानसिक उल्झनको गाँठो फुँदै एकैसाथ परिचय सहित जीवन गाथा सुनाए । बाजुरा तिर गुजारा नचलेर भनौ बसाइसराई गरेर यतै
झरेका दीपेन्द्र शाही सामाजिक अगुवा रहे छन् । घोडाघोडी ताल बारे उनले जाने सम्मको विवरण सुनाए । हार्दिकता पूर्वक चियाको आयोजना गरे । कार्यालय खोल्न लगाए । घोडाघोडी क्षेत्रको ब्रुसेटक र पोस्टर दिएर गुन लगाए । आसपास तिरको फोटो खिचियो । करिव पौने घण्टाको बसाइमा केही जानकारी लिने अवसर मिल्यो ।

कैलालीको नगरपालिका–१, सुखड क्षेत्रमा अवस्थित स्वच्छ पानीको घोडाघोडी तालको क्षेत्रफल १३८ हेक्टर रहेछ । दुईदेखि चार मिटरसम्म गहिराई रहेको घोडाघोडी तालको वरपर यसका १९ दिदीबहिनीताल फैलिएका रहेछन् । पूर्व पश्चिम राजमार्गमा पर्ने धनगढी बजारदेखि करिब ५३ किलोमिटर पूर्वमा पर्ने यो ताल कैलालीको घोडाघोडी नगर पालिका र रामशिखर झाला गा.वि.स.को सीमानामा अवस्थित छ । १९ वटा ताल तलैयाले ओगटेको क्षेत्रफ २४८ हेक्टर समेत यस क्षेत्रको कुल क्षेत्रफल २५६३ हेक्टर रहेछ ।

१९ वटा तालहरू मध्य नखरोड ताल ७० हेक्टरमा फैलेको र चराहरूको सुरक्षित वासस्थान रहेको भनिन्छ । त्यस बाहेक घोडाघोडी तालको वरपर पूर्वीआर्जुवा, आर्जुवा वैसवा, बुढी नखरोड, खर्कटुवा, छिडटुवा, टेडी प्रशिवा, सुनपोखरी, रामफल, टेकनवा समेतका १९ ताल छरिएका छन् । त्यस क्षत्रको रैथाने जाति थारुकभाषामा तिनको नामाकरण भएको देखिनछ । घोडाघोडी ताल सफा पानीको ताल हो । राजमार्ग छेउको निकाशबाट बगेको पानी छिमेकी गाउँका जनताले खानेपानीको रूपमा प्रयोग गरेका छन् । यी सबै ताल संरक्षित बनक्षेत्रभित्र पर्दछन् । मैले यी सबै ताल वरपर घुमेर आनन्द लिन पाइन । त्यसक्षेत्रमा फेरि घुम्ने मनमनै संकल्प गरेर यस पटक फर्के ।

घोडाघोडी ताल क्षेत्र वि.सं. २०६० श्रावण २८ गते (१३ अगस्त २००३) रामसार महासन्धि अन्तरगत संकेत नं. १३१४ मा सूचिकृत भएको रहेछ । भौगोलिक, आर्थिक, सामाजिक, पर्यावरणीय हिसाबले अत्यन्तै महत्वपूर्ण जलभण्डार मानिने रहेछ यसलाई । जैविक विविधताको हिसाबले अत्यन्तै समृद्ध ताल मध्ये एक रहेछ यो । त्यसैले यस तालले अन्तर्राष्ट्रिय रूपमा अत्यन्तै ठूलो महत्व राखेको छ ।

घोडाघोडी ताल तालहरूको माला हो । एउटापछि अर्को तालै ताले बनेको संरक्षित क्षेत्र भित्र विभिन्न प्रजातिका चराचुरुङ्गीको सुरक्षित शान्त अनुकूल बासस्थान रहेछ । हरि हाँस, रैथाने हाँस र धेरै प्रजातिका पाहुना पंक्षीहरू तालको आनन्द लिन आउँछन् । साइवेरिया देखि आएका पर्यटक चराहरू सिमसार चर्छन् । १९ तालमा पालोपालो पौडिखेलेर आनन्द लिन्छन् । स्थानिय पंक्षी सित मैत्री सम्बन्ध कायम गर्छन् । संरक्षित वनक्षेत्रमा ढुक्कसित सैर गर्छन् रमाउँ छन् । उतै ओथारो बस्छन् । नयाँ सन्तान सहित आ–आफ्नै देश फर्किन्छन् ।

पशुपंक्षीहरू दौत्य सम्बन्ध कायम गर्न सिपालु छन् । प्रेम, मित्रता र सद्भाव साट्छन् । अर्को साल फर्किने बाचा गर्छन् र फर्किन्छन् । जन्मथलो सबैलाई प्यारो हुन्छ । चराहरू आफ्नो पुख्र्यौली भुल्न नसकेर फर्किन्छन् । आफ्नै देशमा रमाउँछन् । अर्को वर्ष फेरि अतिथी बनेर आउँछन् । आतिथ्य सत्कारका लागि नेपाली हावा पानी माटो र मेरो प्रकृति संसारमा सर्वोच्च स्थानमा छ । विनम्रता यसको विशेषता हो । रैथाने पंक्षीले आतिथ्यता र सहृदयता प्रदर्शन गर्न नसकेको भए दुनियाँबाट यहाँ आएर रमाउन संभव हुने थिएन होला ।

विश्वका बहुमूल्य जडिबुटी, इतिहासमा संकटग्रस्त अवस्थामा रहेका दुर्लभ वनस्पति र चराहरूका प्रजाति संरक्षित क्षेत्रमा रहेका छन् । त्यस्तै रैथाने प्रजातिका दर्जनौ माछाहरू, दुर्लभ रातो टाउके कछुवा र दुर्लभ गोहीको प्रजननस्थल बनेको रहेछ घोडाघोडी ताल ।

ताल र सीमसार क्षेत्र वरपर अतिलोमोन्मुख मानिने जङ्गली धान समेत पाइन्छ । ३१ प्रजातिका माछा, १४८ प्रजातिका चराहरू, ३२ प्रजातिका पुतलीहरू, ११ प्रजातिका गोहीहरू, ७ प्रजाति घ्रसिने जन्तुहरू, ४५० भन्दाबढी प्रजातिका वनस्पती रहेको अहिले सम्मको अनुसन्धानले बताउँछ । संसारको दुर्लभ र अन्यत्र उतै नभेटिने हरियो टाउके माछा, रातो टाउको भएको कछुवा, तीन धर्के बाघ, पाटे बाघ, विशेष जातिको चितुवा, जङ्गली धान र स्वच्छपानीको ताल यसको विशेषता हो । संसारमै निकै बहुमूल्य मानिने सतिसाल, साल, खयर साजको जङ्गल यसको विशेषता हो ।

जैविक अनुसन्धानको महत्वपूर्ण प्रयोगशाला हो घोडाघोडी ताल । हाम्रो राष्ट्रको गौरव र ठूलो विश्व विद्यालय हो यो अध्येताका लागि । यसको अन्तर्राष्ट्रिय महत्व छ । यति ठूलो बैभवमा राज्यको ध्यान नपुगेको देख्दा रुन मनलाग्छ । ‘कौडीमा पनि मिल्किन्छ भिल्लका देशमा मणि’ भनेको यही होला ।

यो संसारकै समृद्ध जैविक संरक्षण क्षेत्र हो । प्राकृत सम्पदाको अनुपम उदाहरण हो घोडाघोडी ताल । हाम्रो देशमा विभिन्न ताल छन् । तिनको आ–आफ्नै सुन्दरता र विशेषता छ । तर घोडाघोडी ताल बहुआयामिक विशेषता, सुन्दरता र जैविक सम्पदाको धनी ताल हो । नेपालको दुर्लभ सूचीमा परेको घडियाल गोहीको संरक्षणका लागि तालको मध्यभाग तिर गोही प्रजनन केन्द्र निर्माण गरिएको रहेछ । त्यस्तै हिउँदमा आउने फिरन्ते चरा र स्थानिय चराचरुङ्गीको प्रजनन केन्द्रको लागि तालको छेउ छाउ जङ्गलतिर चरा प्रजनन केन्द्र बनाएर राम्रो काम भएको रहेछ ।

यहाँको मनोरम क्षेत्रको अवलोकन गरेर मन निकै रमायो । मेरो देशको सम्पदा मेरोदेशको वैभव देखेर म मनमनै भावुक भए । प्रकृतिका अनुपम वरदान पाउने हामी नेपाली संसारमै समृद्ध छौं । प्राकृत सुन्दरता र जैविक विविधताको हिसाबले नेपाल सित प्रतिस्प्रधा गर्न सक्ने संसारमा कुनै देश छैन । हामी श्रोत साधनका धनी, तनका धनी, मनका धनी, संस्कृति र सम्पदाका धनी भएर पनि किन गरिवी देखाउँछौ अरूका अगाडि । श्रोत साधनको परिचालन सम्पन्नताको पहिचान हो । कस्तुरीको वासना हामी भित्रै छ । तर हामी कस्तुरीको खोजमा अरूको गुलाम बन्दै छौं । पहिचान गुमाएका हामीहरू, परिचय बनाउन नसकेका हामीहरू । आफैँलाई धिक्कार्न मन लाग्छ घरीघरी । हामी हाम्रो सामथ्र्य भूलेऊँ । हाम्रो प्राकृत वैभव र सम्पन्नताको भेउ पाउन सकेनौं । अरूकी आमा राम्री देखियो । आफ्नी आमा नराम्री देखेर सरमाउने पापी बनिएछ हामीहरू । घोडाघोडी ताल क्षेत्र वरपर छरिएको प्राकृत सम्पदाले बसिभूत ग-यो मलाई ।

यस क्षेत्रको धरतीपुत्र थारूले संरक्षण गरेको घोडाघोडीताल क्षेत्रले त्यो जातिको विश्वास र भावना संग अभिन्न सम्बन्ध राख्द छ । प्रत्येक वर्ष मंसिर महिनाको विवाहपञ्चमीका दिन यस क्षेत्रका चौधरी (थारू जाति) ले तालको छेउमा रहेको घोडाघोडी देवताको पूजा गर्ने गर्दछन् । तालको दक्षिण किनार राजमार्ग छेउमा रहेको घोडाघोडी बाबाको मन्दिरमा परेवा, हाँस, वंगुर, कुखुरा आदिको बली दिएर पूजा अर्चना गरिन्छ । थारू जातीको ल्वाङ्गी पूजा, मोहत्याल पूजा गरेर बाबाको आशीर्वाद थाप्दछन् । शिवरात्री, माघेसंक्रान्ति, कृष्ण जन्माष्ठमीका दिन पनि मेला भर्ने प्रचलन रहेएको बताइन्छ । नयाँ बाली थन्काएपछि यो चाड धुमधामसित मनाएर परम्परा धानेका छन् थारु जातिले । आदिवासी थारु जाति धरतीपुत्र, प्रकृतिको रक्षक र परम मित्र हो । यसको प्रकृतिसित जीवित सम्बन्ध छ । प्रकृतिमाथि अतिक्रमण र आक्रमण गर्ने जातिले प्रकृतिको पूजारी थारूजातिलाई विस्थापित गर्दै लागेको छ ।

अर्को धार्मिक महत्वको सीता कुण्ड ताल क्षेत्र नजिकै छ । घोडाघोडी तालको महत्वपूर्ण जलस्रोतको भण्डार भनेर सीता कुण्डलाई मानिन्छ । आसपासका ससाना खोला खोल्सी र तालभित्रको आफ्नै जरुवा र वर्षातको पानी यस जल भण्डारको महत्वपूर्ण स्रोत हो । हिँउदमा गाउँलेको खानेपानी समस्या हल गर्न तालबाट पानी छाडिने रहे छ । मैले पानी बगेको देखेर ‘पानी छाडीएछ ’ भने । “गाउँलेलाई पानी दिनु प¥योनी खडेरी यत्रो छ । मानिस र गाईवस्तुको रक्षा गर्नु प¥यो के गर्नु हुन्छ ” भन्दै शाहीले जवाफ दिएँ । ‘यसरी तालको पानी छाड्दा तालको सतह घट्दैन’ भन्दै मैले चिन्ता जाहेर गरें । सरकारले गाउँलेलाई खाने पानीको वैकल्पिक व्यवस्था नगर्दा सम्म दिनै पर्ने हुन्छ भन्ने उनको तर्क छ ।
मानिस प्रकृतिको सन्तान हो । आफ्नो सन्तानको बचाउनका लागि प्रकृति यसै तत्पर छ । घोडाघोडी तालको काखमा आश्रित जनताको तिर्खा मेट्न ताल रसाएको छ । तालको वरपर जङ्गलमा बहुमूल्य जडिबुटी पाइन्छ । प्रकृतिका पूजारी थारू जातिहरू तिनै संजीवनीको भरमा रोगको उपचार गर्छन् । यो जातिको आफ्नै जीवन शैली छ । भाषा, धर्म, संस्कृति र परम्पराको मौलिकता यसको विशेषता हो । मौतुहवा, थालुफाटा गाउँमा अहिले होमस्टे बनेको सुन्दा खुशी लाग्यो । माघी थारू जातिको महत्वपूर्ण चाड हो । यसलाई धुमधामसित मनाइन्छ । माघी गाउँ पनि तालको आसपासमै पर्ने र घोडाघोडी क्षेत्र अवलोकन गर्न आउने अभ्यागतलाई थारू खाना, खाजा र साँस्कृतिक नाचले स्वागत गर्ने चलनको शुरुवात भएको रहेछ ।

घोडाघोडी तालमा मौसम अनुसार जात जातका कमलका फूलहरूले ढपक्कै ढाकेको हुन्छ । सिमसार क्षेत्र तालको छेउ छाउ जङ्गलमा सयौ जातका फूलहरूको वासनाले ताल वरपरको परिवेश बाह्रैकाल मगमागाएको हुन्छ । मौसम अनुसार चराचुरुङ्गीको सुमधुर कलरव र नादमा प्रकृति झुलेको छ । नजिकैको पीपलको डालीमा बसेर कोइलीले कुहु कुहु गर्दै अभ्यागतको आगमनको स्वागत र परिचयको विनय गरेको छ । आज मैले मेरो परिचय दिन लजाएको छु । ढिलोगरी यस क्षेत्रमा पुगेकोमा मनमनै क्षमायाचना गर्दै छु । मेरो मनको वेदना बुझेर होला सायद कोइली भुर्र उडेर अलिपर आफ्नो राग अलापी रहेको छ ।

ऐतिहासिक महत्वको यस हय सरोवरले पौराणिक लोकोक्ति बोकेको छ । सत्ययुगको अन्ततिर उछौ श्रावा नामको पाइनदार घोडामाथि तेजस्वी भाई रेवन्तक वैकुण्ठतिर आउँदै गरेको देखेर लक्ष्मी आसक्त भइछन् । विष्णु भगवानले त्यसलाई सहन गर्न नसकेर लक्ष्मीलाई ‘मृत्युलोकमा गएर घोडीको भेषमा विचरण गर्नु’ भन्दै श्राप दिएछन् । लक्ष्मी घोडीको रुप धारण गरी यही सरोवर वरपर विचरण गर्न थालिन् । केही समय पश्चात विष्णु भगवान लक्ष्मीलाई भेट्न घोडाको भेष धारण गरी आए । दुवै यही सरोवर वरपर विचरण गरेकोले थारू भाषामा घोडाघोडी ताल भएको किंवदन्ती शाहीले सुनाए ।

घोडाघोडी ताल संरक्षण र त्यसको विकासका लागि स्थानिय जनताको सक्रियतामा घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपालको गठन भएको रहेछ । दीपक शाही त्यसको अध्यक्ष रहे छन् । मञ्चको सक्रियतामा केही काम भएको देखिन्छ । यति ठूलो अन्तर्राष्ट्रिय महत्व बोकेको र रामसार महासन्धि ९च्बmकबच ऋयलखभलतष्यल० अन्तर्गत सूचिकृत घोडाघोडी तालमा राज्यको नजर परेको देखिदैन । साँस्कृति, धार्मिक र जैविक अध्ययनका हिसाबले यो अत्यन्तै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । यस प्रकारका महत्वपूर्ण सम्पदा र धरोहर सबैतिर अलपत्र परेका छन् । त्यस क्षेत्रका राजनीतिक कर्मीहरूले पनि त्यति महत्वका साथ प्रचारमा ल्याएर व्यवस्थापनमा लागेको देखिदैन । पश्चिम क्षेत्रको आर्थिक आय–आर्जनमा काया पलट गराउन सक्ने प्रचुर संभावना बोकेको यस तालको पर्यटकीय विकासका लागि विकास समिति गठन गरी तत्कालिन र रणनीतिक गरुयोजना गराई लागु गर्न सके देशको सान र गौरव उचा हुने निश्चित छ । अन्तर्राष्ट्रिय महत्वको सिमसारको रक्षा र विकासमा राज्यको ध्यान केन्द्रित गर्नु जरुरी छ ।

माथि घोडाघोडी बाबाको मन्दिरमा भक्तजनहरूले श्रीमद् भागवत पुराण लगाएका छन् । आवत जावत भरखरै सुरु भएको छ । दीपेन्द्र शाहीले सडक छेउको कार्यालय खोल्न लगााए । आगन्तुक पुुस्तिका निकाले र केही मन्तव्य लेख्न भने । मैले खुशीसात केही भनाइ पुस्तिकामा चढाएँ । बाहिर बेञ्चमा बसेर एक–एक कप चिया सँगै पिएर सौहार्दता सटियो । हय सरोवरले मोहनी लगायो । यहाँको आधाघण्टाको बसाइले मन अघाएको छैन रमाएको छैन । यतै ताल वरिपरि हय बनेर हप्तौ हराउने रहर सोचेर हिँडे ।

मलाई सधैँ हतार हुन्छ । हतारमा बाँचेको मान्छे म । समयले त्यतै रमाउने अनुमति दिएन । हिँड्न तयार भएँ । दीपेन्द्र शाही प्रति आभार प्रकट गरें । उनी भेट नभएको भए यति विधि सूचना संकलन गर्न संभव हुने थिएन । बिदाइका दुइ हात जोडेर गाडीमा छिर्नु पूर्व एक पटक ताल वरपरको परिवेशमा नजर लगाएँ । साजनले उता फोटो खिच्दै थिए । गाडी स्टार्ट भएपछि हतारिदै छिरे । गाडी सुखड बजार हुदै कर्णाली तिर हानियो । घोडाघोडी ताल संरक्षण क्षेत्रको मेरो आँखामा परेको नक्सा घरीघरी आइरहेको छ ।
२०७३/१/१५