नक्कली प्रवेशाज्ञा देखाई ठगी गर्ने पक्राउ

विभिन्न मुलुकका आकर्षक तलब पाउने कम्पनीमा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भनी नक्कली प्रवेशाज्ञा देखाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काभ्रेपलाञ्चोकको कात्तिके देउरालीका बुद्धकुमार लामालाई शनिबार प्रहरीले पक्राउ गरी थप अनुसन्धानका लागि आज वैदेशिक रोजगार विभागमा पठाएको छ । लामाले सिन्धुली बेलघारीका गीतिन्द्रबहादुर ठकुरीसहित पाँच जनाबाट रु १० लाख, काठमाडौँ डल्लुका कविन शाहीसहित सात जनाबाट रु ११ लाख र डडेल्धुरा अमरगढीका दिलबहादुर तमोलीबाट रु एक लाख ९२ हजार ठगी गरेका थिए ।

यस्तै बबिता काजु र कविता श्रेष्ठलाई युरोपका आकर्षक तलब पाउने देशमा पठाइदिने भनी रु तीन लाख, राकेश प्रधान र जनक पौडेललाई फ्रान्स पठाउन रु पाँच लाख ५० हजार, खगेन्द्र गुरुङलाई संयुक्त अरब इमिरेट्स (युयइ) पठाउन रु दुई लाख उठाइ लामा सम्पर्कविहीन भएका थिए । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौँको लाजिम्पाटबाट पक्राउ गरेको हो ।