मेरो पुस्तकालय

गाउँको मेरो घरमा एउटा सानो पुस्तकालय थियो । सानै भए पनि महत्वपूर्ण थियो । ३५ सय चार हजारको संख्यामा थिएहोलान् पुस्तकहरू । २०१९/२०२० साल देखिको विविध विधाको संग्रह थियो । माक्र्सवादी दर्शन, साहित्य, राजनीति अर्थशास्त्र समेतका दुर्लभ दस्तावेजको संकलन थियो । नेपाली भाषा, साहित्य, संस्कृति र इतिहास सम्बन्धी पाएसम्म सामाग्री जम्मा पारेको थिएँ । ऐतिहासिक, पौराणिक लिखत र अभिलेख पनि सुरक्षित थिए ।

विद्यार्थीकाल देखि ०५७ सम्मका मेरो जीवनका महत्वपूर्ण साहित्यिक पाण्डुलिपि, लिखत र अभिलेखहरू थिए । पिताजीले बनारसबाट ल्यएका धर्मिक पुस्तकहरू पनि थिए । ०४५/०४६ तिर मेरो पुस्तकालयमा बसेर मोहन विक्रम सिंहले ४–५ दिन अध्ययन गरेर प्रसंशा पनि गरेका थिए । मेरो सानो पुस्तकालय मेरो सानो संसार थियो । मेरो जीवनभरको कमाई मेरो पुस्तकालयमा सेनाले २०५९ साल असारमा घरमा छापा मारेछ । तोडफोड गरे छ । पुस्तकालयमा मट्टीतेल खनाएर आगो लगाए छ । मेरा शैक्षिक प्रमाणपत्र, घरायसी लिखत र तमसुक सबै दुष्टहरूले जलाए ।

सरकारले आपतकाल घोषणा गरेको थियो । छोराछोरीहरू कमठमाण्डौको गल्ली गल्लीमा टाउको लुकाउन जीवनको भिख माग्दै तड्पेका थिए । छोरा राजनले रुँदै सेनाले पुस्तकालयमा आगो लगाए छ घरभित्रको सबै सम्पत्तीलुटेर लगेछ भन्ने जनाउ दिए । पुस्तक, मेरा सबै पाण्डुलिपि र ऐतिहासिक संग्रह पोलिएको सुनेर म आफ्नै जीवनमा आगो लागेको अनुभूति भयो । म जीवनमा पहिलो पटक रोएँ । अहिले पनि त्यो सानो पुस्तकालय सम्झिँदा मन खिन्न हुन्छ ।

युद्धकालमा पनि निकै पुस्तक किनियो । बस्ने ठेगान थिएन । राख्ने र राखिदिने ठाउँ पनि भएन । जहाँ गयो उतै सारियो । लु सुन, रोजा र ग्राम्सीका दुर्लभ पुस्तक किनिएको थियो उतिबेला । आज ती पुस्तक पुस्तक सम्झिदा मन खिन्न हुन्छ । हुन त आजभोलि पठन संस्कृति अलिकति पातलो भयोे भन्छन् । ती किताबहरूको खोजी कमै होला । मेरा लागि महत्वपूर्ण थिए ।

मेरो ८–९ कक्षा पढ्दादेखि नै पुस्तकप्रति लगाव बस्यो । मेरो स्कूलमा त्यतिबेलै हंसबाहिनी पुस्तकालय थियो । विदेशी कुटनीतिक नियोगहरूले प्रसस्तै पुस्तक उपहार दिएका थिए । मैले पुस्तकाध्यक्षको जिम्मा पाएको थिएँ । धेरै पुस्तकसित खेल्ने अवसरले मलाई पुस्तको संसारसित मोहनी लगाइदिएको थियो । समकालीन नेपाली साहित्य मैले उतिबेलै पढिसकेको थिएँ । लेनिन र माओका रेडबुकले उतिबेलै आकर्सित गरेको थियो । कक्षा ८ मा पढ्दै गर्दा गोरखापत्रको वार्षिक ग्राहक बन्ने म गाउँको पहिलो विद्यार्थी थिएँ । हुलाकबाट आइपुग्दा १५ दिन लाग्थ्यो । नेपाली भाषाको अध्ययन र लेखनमा यो निकै सहयोगी सिद्ध भयो ।

स्कुल छाडेपछि मलाई पुस्तकालयको भोक जाग्यो । घरमै पुस्तक जम्मा गर्न थालेँ । २०२७ मा अंग्रेजी भाषा तालिमका लागि काठमाडौं आएँ । त्यतिबेला प्रगतिशील पुस्तक प्रसस्तै किनियो । प्लेनबाट पोखरा पु¥याउँदा निकै ठूलो रकम खर्चिएको थियो । ३–४ भरियाले नागडाँडाबाट घर पु¥याएका थिए । यो आजभोलि एकादेशको कथाजस्तै भएको छ ।

आज म पुस्तकको धनी छैन । पार्टीले म, देव गुरुङ र कृष्णबहादुर महरालाई वार्ता समितिमा राखेर २०६३ जेठ पहिलो साता काठमाडौं पठायो । त्यसपछि जम्मा भएका पुस्तकको सानो पुस्तकालय अहिले छ घरमा । नयाँ पुस्तक बजारमा आउँछन् । किन्न मन लाग्छ । कति लेखक साथीहरुले सम्मान साथ दिनुहुन्छ । सम्मानपूर्वक प्राप्त गरेका पुस्तक नपढी अलपत्र पार्नु अन्याय भयो कि भन्ने लाग्छ । किनेका पुस्तकले पालो कुरेर प्रतिक्षामा बसेका हुन्छन् । तिनीहरुलाई अन्याय गर्न मनले मान्दैन । हिन्दी साहित्यका लागि नेपाल भारत पुस्तकालयमा छिर्न मन लाग्छ । कालिदासको मेघदुत रसिक साहित्यको सर्वोत्कृष्ट कृति हो भन्ने मेरो ठहर छ । संसद सचिवालयको पुस्तकालयमा जाने बानी अझै छुटेको छैन । भ्याएसम्म छिर्ने गरेको छु । जे भए पनि पुस्तकले तानेका हुन्छन् । त्यति तानिन नसके पनि पुस्तकसित खेल्न पाउँदा समय बितेको पत्तै हुदैन ।

०५८ पहिलेका मेरा थुपै्र पाण्डुलिपी जले । पुस्तक प्रकाशन गर्न सके मात्रै सुरक्षित हुनेरहेछन् भन्ने पछि मात्रै चेत खुल्यो । अहिलेसम्म राजनीतिक साहित्यिक समेत ११ बटा पुस्तक बजारमा आएछन् ।

शेष जीवन राजनीति साथै साहित्य, साधना र सेवामा समर्पित गर्ने सोचेको छु । साहित्य सिर्जनाका लागि अबिराम साधना र समपर्णको खाँचो पर्छ । रुखो राजनीतिको बाँझो फोर्दा ठेला परेका हातले रसिक साहित्यको सिर्जना गर्न कति सम्भव होला ? तर पनि साहित्यको शीतल छहारी तापेर रमाउन मन लगिरहन्छ । शान्त एकान्त वातावरण, सानो पुस्तकालय, सानो सुन्दर बगैंचा, उज्याले पहारिलो कोठा, सानो टेबुल कुर्ची, मनपर्दो लेखनी र केही कागज, बस यति भए पुग्छ मलाई । शेष जीवन लेखपढमै बित्ने होला । त्यसैले होला पुस्तकप्रतिको लगाव बाँकी नै छ ।

आजकल त बुढी पनि फेसबुकमा रमाउन थालेपछि समय कता पुगेछ भन्ने लाग्छ । पछि मेरो संग्रहको सम्हार गर्ने कोही होला की नहोला ? मलाई चिन्ता त्यसैको छ । जे भए पनि मैले किन समय फाल्नु अल्छि बनेर । “हात खाली नराखे मुख खाली रहदैन” भन्थे बुढाबाले ।
मेरो सानो पुस्ककालय सुदामाको साझा सम्पत्ति हो । तपाईंलाई मेरो घरको ढोका सधैं खुला छ ।

सबैको जानकारीका लागि निम्न अनुसारको सूची समावेस छ ।

१. माक्र्सवादी दर्शन, साहित्य, राजीतिक अर्थशास्त्र समेत
२. नेपाली भाषा, संस्कृति, साहित्य इतिहास भूगोल समाजविज्ञान समेत ।
३. विश्व साहित्य, दर्शन, समाजशास्त्र, राजनीति
४. जीवनी, व्यक्ति व्यक्तित्व, आत्मवृतान्त
५. विविध