मेरो स्मरणमा डिल्लीप्रसाद शर्मा

विक्रमको २१औं शताब्दीको उदय हुँदै थियो । विश्वभरी मुक्ति र जागरणको उज्यालो प्रकाशधारा छरिँदै थियो । मानव चेतना र प्रयत्नहरू संगठित हुँदै थिए । दक्षिण र दक्षिणपूर्वी एशियामा फैलिएको राजनीतिक जनजागरणको लहरले नेपाललाई पनि प्रभावित गरेको थियो । राजनीतिक स्वतन्त्रताका लागि भएका विश्वव्यापी प्रयत्नमा नेपाल पनि अछुतो रहेन । निरंकुशताका विरुद्ध आन्दोलनको आँधीबेहरी सिर्जना हुँदै थियो । स्वतन्त्रकालागि विसं १९९७ सालमा चार जना शहीदको रगतले नेपाली माटो सिंचियो । त्यसैको सेरोफेरोमा हाम्रो वंशमा एक मेधावी बालकको जन्म भयो । त्यसले हाम्रो वंशको इज्जत रख्यो । आधुनिक शिक्षाको विकासका लागि अविस्मरणीय योगदान दियो ।
प्रत्येक युगमा समयले यथास्थिति भन्दा अलि अग्रचेतना भएका व्यक्तिको जन्म दिन्छ । त्यसले नै समाज राष्ट्र र विश्वलाई नै अगुवाई गर्दछ । हाम्रो कुलमा १९औं शताब्दीको अन्ततिर जन्मेका डिल्लीप्रसाद शर्माले हाम्रो समाजमा आधुनिक शिक्षाको विउ रोपे । शिक्षको विकाशकालागि जीवन पर्यनत संघर्ष गरे । हामी सबैलाई ऋणी बनाए ।

एउटा भर्खरको ओठमाथि रेखी बसेको युवक विक्रम संवत २०१६ को एक बिहान घरबुनाको कुर्था सुरुवालमा मेरो घरमा उपस्थित भयो । मेरो पिताजीको गोडामा झुकेर टुपुक्क ढोग गर्दै कुल परम्परा सम्मान, विनम्रता र सभ्यताको परिचय दियो । दुबै जनाको भलाकुसारी भयो । म त्यो बेला भर्खर १२÷१३ को थिएँ । मेरो स्मृति पटलमा त्यो दृश्य अहिलेसम्म नाचिरहेको छ । २०१६ सालको माघ फागुनको बिहान थियो, सायद । पाल्पाबाट एसएलसी परीक्षा दिएर घर आउँदाको दोस्रो बिहान हाम्रो घरमा पुगेका थिए, डिल्लीप्रसाद शर्मा । मेरो पिताजीको उनीप्रति गहिरो माया थियो । उनले पनि त्यतिकै आदर र सम्मान गर्थे पिताजीलाई । जीवा भनेर आदर गर्थे । बाबु भन्दै पिताजीले माया गर्नुहुन्थ्यो । नाती जिवाको सम्वाद जीवनपर्यन्त अत्यन्तै निकट भयो । किन यति नजिक भयो थाहा छैन । हाम्रो पारिवारिक सम्बन्ध मेरो हजुरबाको पालादेखि नै निकै नजिक र गहीरो थियो ।

मैले एकपटक “हाम्रा दाजुभाई मध्य हाम्रो सबभन्दा नजिकको हाँगो कुन हो ?” भनेर बुढा बालाई सोधेको थिएँ । ‘भूर्तिएँहरू र एक्लेको हाँगो नजिकको भन्छन्, मलाई पनि एकिन छैन’ भन्नुहुन्थ्यो । डिल्लीप्रसाद शर्माको परिवारमा निकै पुस्तादेखि एकभाई मात्रै जन्मिने र वंश परम्परा कायम हुँदै आएकोले एक्ले भनिन्थ्यो त्यतिबेला । डिल्लीप्रसादको समयमै विवाह भयो । लामो समय सम्म जायजन्म भएन । परिवार र आफन्तमा चिन्ता भयो । घरपरिवर र छरछिमेकीहरूले दोस्रो विवाह गर्न दवाव दिन थाले । तर उनी तयार भएनन् । लामो प्रतीक्षा पछि पहिलो सन्तान भयो । त्यतिवेला म बनारस थिएँ । डिल्लीप्रसादलाई छोरा जन्म्यो भन्ने खवरले म औधी खुसी भएको थिएँ । पछि क्रमस सात भाइ छोरा जन्माएर ‘एकले’ भन्ने भनाई अन्त्य गरिदिए । नयाँ पुस्तालाई यो भनाइ इतिहास भयो । जे होस हाम्रो परिवारिक सम्बन्ध निकै घनिष्ट र नजिक थियो । आवतजावत अ‍ैंचोपैंचो साह्रो गाह्रो पहिलेदेखि नै चल्दैआएको थियो ।

पिताजी डिल्लीप्रसादसित निकै प्रभावित हुनुहुन्थ्यो । आँतैदेखि विश्वास गर्नुहुन्थ्यो । मलाई डिल्लीप्रसाद जस्तै बनाउन चाहनुहुन्थ्यो । २०१३ सालमा म १० वर्षको थिएँ, डिल्लीप्रसादले बागलुङ बजारस्थित विद्यामन्दिर बहुउद्देश्यीय हाईस्कूलमा पढ्दै थिए । अंग्रेजी शिक्षाका लागि मलाई उनैसित पठाउने तयारी भयो । तर जानुभन्दा पहिलो दिन डिल्लीप्रसाद आएर स्कूलमा लामै विदा परेको जनाउ दिए पछि मेरो साइत घक्र्यो ।

डिल्लीप्रसाद शर्माको प्रारम्भिक शिक्षा गाउँमै भयो । ज्योतिष विद्याकालागि अमलाचौर–२, अर्चेले पण्डितको घरमा गएँ । बागलुङ्ग रातामाटा उनको मामा घर हो । मामाका छोराहरू सवै स्कूलजाने कुराले उनलाई पनि तानेको हुनु पर्छ । उतै मामा घर बसेर विद्यामन्दिर बहुउद्देसीय हाइस्कूलमा कक्षा १० सम्म पढे । विसं २०१६ सालमा पाल्पा केन्द्रबाट एसएलसी दिएर गाउँमा फर्केका थिए डिल्लीप्रसाद । मेरो पिताजीको भनाइमा उनी निकै विनम्र, अनुशासित र मेधावी विद्यार्थी थिए । इमान्दारी र सच्चाई उनको पहिचान र आदर्श बन्यो । मलाई पिताजीले पटक पटक डिल्लीप्रसाद जस्तै बन्नुपर्छ भनेको मैले विर्सेको छैन ।

एसएलसी दिएर आएपछि २०१६ साल फागुनतिर डिल्लीप्रसाद शर्माले अमलाचौर गाविस वडा नं. १ सम्माचौरमा बुद्धिदात्री प्राइमरी स्कूल खोलेर पढाउनथाले । स्कूल खोल्न हरिप्रसाद पाध्या बरडाँडा, मेरो पिताजी समेतका व्यक्तिहरूले अग्रसरता लिए । १ देखि ४ कक्षासम्म पढाई भयो । उमेर र स्तर हेरी भर्ना गरे । म, घननाथ, तेजेन्द ढकाल समेतलाई कक्षा ४ मा राखे । हाम्रो गाउँमा औपचारिक शिक्षाको प्रारम्भ त्यहा बाटै भयो । त्यस क्षेत्रमा डिल्लीप्रसाद शर्मा पहिलो एसएलसी परीक्षा उत्तीर्ण हुने व्यक्तिहुन् । त्यतिबेला अंग्रेजी शिक्षालाई गाईखाने विद्या भनेर उपेक्षा गरिन्थ्यो । जे होस, उनले गाउँमा आएर स्कूल खोल्ने अग्रसरता नदेखाएको भए मेरो पुस्ता आधुनिक शिक्षाको उज्यालो प्रकाशबाट बञ्चित हुनेथियो ।

स्कूल खोल्ने बेला अलिकति विवाद भयो । कतिपयको मत तत्कालिन गाउँ पञ्चायतको केन्द्रमा स्कूल बनाउनुपर्छ भन्ने थियो । त्यो भनाई अनुचित थिएन । वार्डनं १ र ७ लाई मात्र पायक पर्ने ठाउँमा स्कूल स्थापना भएपछि समाज विभाजित भयो । अर्काे समुह अमलाचौरमा स्कूल बनाउन सक्रिय भयो । दुर्गाबहादुर क्षेत्री, पं.भवानी प्रसाद, बलाराम आचार्य, गजाधर, प्रेमप्रसाद समेतले अमलाचौरमा प्राइमरीस्कूलको स्थापना गरे । आज त्यो नै पृथ्वी उच्च माविको रुपमा संचालित छ ।

२०१६ साल फागुनदेखि २०१७ साल जेठसम्म डिल्लीप्रसादले हामीलाई सम्माचौरमा पढाए । कक्षा ४ को अर्धवार्षिक परीक्षा पास गरियो । डिल्लीप्रसाद शर्माको एसएलसीको नतिजा प्रकाशित भयो । उनी पास भए । उता पैयुँपाटातिर पनि स्कूल खोल्ने लहर चलेको थियो । पूर्ण प्रकाश नेपाल त्यतै भाषा पाठशालामा पढाउनुहुन्थ्यो । हेमराज शर्माले संस्कृत पढेर आइसक्नु भएको थियो । डिल्लीप्रसाद समेतका उति बेलाका पढेलेखेका जागरुक युवा शिक्षा क्षेत्रमा केही गर्नुपर्छ भन्दै अग्रसरता देखाउन थालेका थिए । ०१७ साल भदौ १ गते पैयुँपाटामा मिडिलस्कूल खोल्ने निर्णय भयो । प्रधानध्यापक डिल्लीप्रसाद बने । हामी डिल्ली प्रसादसित सँगै पैयुँपाटा गयौं । ५ कक्षामा हामीलाई भर्ना गरियो । ०१७ साल मंसिरमा हामीले ५ कक्षा उत्तीर्ण गरियो ।

पछि डिल्लीप्रसाद आइए पढ्न पोखरा जाने भए । मलाई पिताजीले डिल्लीप्रसाद सँगै पोखरा पठाउनुभयो । पृथ्वीनारायण क्याम्पस ०१७ सालमा भर्खरै स्थापना भएको थियो । आफ्नो भवन थिएन । कन्यामन्दिर मिडिल स्कूल भीमकाली पाटनमा साँझको कक्षा हुन्थ्यो । उनी उतै जान्थे । मलाई राष्ट्रिय बहुउद्देश्यीय हाइस्कूल बगरमा कक्षा ६ मा भर्ना गरिदिए । प्रेमबहादुर पनि सँगै गएका थिए । त्यो स्कूलमा ठाउँ नभएकोले बाटुलेचौरमा कक्षा ५ मा भर्ना भए । हामी मिरुवा बसेका थियौं । जगतबहादुर पनि हामी सित थिए । उनी जागिरे थिए ।

हामीलाई अंग्रेजी शिक्षामा तातेताते गराउने डिल्लीप्रसाद शर्मा नै हुन् । मैले दिलैदेखि उनीप्रति आभार प्रकट गर्दै आएको छु जसलाई मैले शब्दमा व्यक्त गर्न सक्दिन । गाउँ र जिल्लाको अलि साँघुरो घेराबाट बाहिर निकालेर फराकिलो आकाश हेर्ने अवसर उनैले दिलाए । त्यसले मेरो सोचाइमा अलि चौडापन ल्यायो । ०१७ साल पौष १ मा पञ्चायत लागु भयो । मेरो कक्षा शिक्षक घनश्याम मर्सानी थिए । उनी काँग्रेसको कार्यकर्ता रहेछन् । भूमिगत भए । पं. भवानी प्रसाद पाध्या कैयाबाट भागेर भूमिगत बस्न हाम्रो डेरामा गए । अलिदिन उतै लुकाइयो । लामो समय लुकाउन गाह्रो भयो । वेद वेदाङ्ग आश्रममा लगेर राखियो । मलाई पंचायत राजनीति विरुद्ध सक्रिय हुन त्यसैले प्रेरित ग¥यो । भूमिगत जीवन भनेको के हो भन्ने पनि त्यतिबेलै थाहा भयो । हामी पोखराबाट २०१८ बैशाख तिर पुनः त्रिभुवन मिडिल स्कूल पैयुँपाटामा नै फर्कियो । डिल्ली पोखरा पढ्न गए पनि विदाको समयमा स्कूलमा आएर पढाउन चुकेनन् । शिक्षाको विकास उनको जीवनको अभिष्ट बन्यो । पढ्दै पढाउँदै गए ।

डिल्ली प्रसाद शर्मा सामाजिक अभियन्ता पनि हुन् । समाजमा हुने अशिक्षा, रुढी, अन्धविश्वास, अन्याय, अत्याचारका विरुद्ध अविराम संघर्ष गरे । भीमनाथसितको उनको निकटता र दोस्ती त्यसकै परिणाम हो । स्थानीय सामान्तका विरुद्ध उनी सधैं उभिए । शोषण, दमन, अन्याय, अत्याचारका विरुद्ध खरो रुपमा उभिएर अगुवाको भूमिका निर्वाह गरे ।

२०१९÷२० सालतिर मलाई सँगै लिएर उनले बागलुङ गए । गौंडाकोटे बाजेको होटलमा बसियो । राति, म बाहिर गएर आउँछु भन्दै गए । निकै अवेर आए । अर्कोदिन फर्कियो । फर्किँदा राजनीतिक सम्पर्कका लागि गएको संकेत गरे । चित्र बहादुर केसी, राधेश्याम कमारो, शास्त्रदत्त पन्त, बालकृष्ण नेवाः समेतका उनका सहपाठी वामपन्थी पार्टीमा लागेका रहेछन् । त्यति बेलै मलाई त्यसको संकेत गरेका थिए । मलाई त्यसले राजनीति तिर प्रेरित गरेको थियो ।

अर्को पटक शास्त्रदत्त पन्तको घर लिएर गए । त्यो राति उतै बसियो । अर्को कोठाममा बसेर दुई जनाले निकै कुरा गरे । कान थापेर सुने । कुरा व्यवहारिक भन्दा पनि राजनीतिक भएको मैले छनक पाएँ । मेरो राजनीतिक जीवनको यात्रा त्यस्तै अमूर्त कुराकानीको मसिनो धागो पक्डेर अगाडि बढ्दै थियो । म सन् १९६६ मा बनारस पुगेँ । बलाराम उपाध्यायसँग भेट भयो । उनकै माध्यमबाट पुष्पलालसम्म पुगेँ । सन् १९६७ मा क.पुष्पलालबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएर राजनीतिक यात्रालाई औपचारिक रुपमा आरम्भ गरेँ । डिल्लीप्रसाद शर्मा लगायतका व्यक्ति, चित्रबहादुर केसीको पार्टीमा बसेर काम गर्दैरहेछन् । त्यो कुरा २०२४ साल पछि मात्रै थाहा भयो ।

सन् १९६६ मे, जुन तिर म बनारस जाने तयारी गर्दै थिएँ । मलाई तात्कालिक धवलागिरि अञ्चलाधीश सित भेट गर्न लगियो । किन लगियो भन्ने मलाई थाहा थिएन । एकान्तमा अञ्चलाधीसले फकाई फुल्याई गरे । मलाई अनौठोलाग्यो । नेपालको भूमिगत राजनीति बनारस तिर केन्द्रित थियो । सबै दल र तिनका नेताको गतिविधि बुझेर आउनु भने । मैले कुरा सुनेँ र नियत बुझेँ । टाउको हल्लाएँ । पछि बनारस गएँ । मलाई अञ्चलाधीससम्म पुर्याउने गुरुको अन्तर्य बुझेँ । यो कुरा मैले डिल्लीप्रसादलाई पनि भनिन । उनले थाहा पाए पाएनन् सोधिन । फर्केर आए पछि पुनः भेट गराइयो र उताको सूचनाबारे सोधियो । कसैसित भेट भएन । केही सूचना ल्याउन सकिन भनेँ । अञ्चलाधीसको मनोविज्ञान पढेँ । तर त्यसैबेला मैले पुष्पलाललाई भेटेको थिएँ । अन्य वामपन्थी साथीहरूसँग सम्पर्क बनाएर फर्केको थिएँ । डिल्लीको निकटको भनेर मलाई सबैले चिन्थे । मैले जिल्लामा बनारसबाट फर्केपछि पार्टी खोलेँ । मेरो निगरानी भैरहेको थियो । डिल्लीप्रसादले मेरो बचाउ प्रत्यक्ष अप्रत्यक्ष गर्दै आएका थिए । त्यसैले उनी पनि शंकाको घेरामा सधैं परेको हुनुपर्छ ।

हाम्रो क्षेत्रमा वामपन्थी राजनीतिको वैचारिक भूर्ण छर्नेमा उनी पनि हुन् । तर उनी सक्रिय राजनीतिमा कहिले पनि अगडि आएनन् । उकेरा लगाउने काम मैले गरेँ । त्यसैले हाम्रो वैचारिक रसायन मिल्यो । म अविराम अगाडि बढेँ । परिस्थितिले डिल्लीप्रसादको जीवनमा धेरै उतारचढाव ल्यायो । शास्त्रदत्त, राधेश्याम पञ्चायतमा गए । बालकृष्ट निस्कृय भए । तर पनि बागलुङ जिल्लामा वामपन्थी राजनीतिको विउ उमार्न यो पुस्ताको सकारात्मक भूमिकालाई बिर्सन सकिदैन ।
अहिलेको त्रिभुवन उच्चमाविको डिल्ली प्रसाद संस्थापक प्रध्यानध्यापक हुन् । निमाविदेखि नै प्रअ रहेर उनले काम गरे । स्कूल बनाउन हाम्रो गाविसको अतुलनिय योगदान रह्यो । स्रोत, साधन, शीप र आर्थिक सहगोले सिंचन र मलजल गरियो । शिक्षाको विकासका लागि डिल्लीप्रसादले दिएको योगदान अतुलनीय छ । उनी त्यसै स्कूलमा आजीवन प्रअ बन्ने आशय व्यक्त गरेका थिए । स्कूल समृद्ध बन्दै गयो । भौतिक संरचना बने । त्यस सन्दर्भमा कताकता आर्थिक तलमाथि भएको अनुभुति गरेछन् उनले । एकदिन व्यवस्थापकको आसय बुझ्न ‘ म अव यहाँ नबसौ क्यारे’ भनेछन् । सजिलै गइदिए हुन्थ्यो भन्ने मनोभावना बुझे पछि चित्त साहै्र दुुखे छ । ‘अब यहाँ बस्न सकिदैन होला’ भन्दै खिन्न र मलिन अनुहार लगाउँदै एउटा प्रसंगमा म सित दुःख पोख्दै यो कुरा भनेका थिए । विवाद गर्नुभन्दा निस्कनु राम्रो भन्दै स्कूल छोडेर आफ्नो इमान र स्वाभिमान कायम गरे ।

उनी पछि माध्यमिक विद्यालय निरीक्षक बने । जिल्ला शिक्षाअधिकारी भएर राष्ट्रसेवामा खटिए । तर उनले पञ्चायत सामु कहिल्यै आत्मसमर्पण गरेनन् । पछि पञ्चायती निरंकुशताले जागिर खायो । निर्मम र सम्झौहिन संघर्ष गरे । धेरै हण्डर खाए । अनियमिततासँग सम्झौता गर्न तयार भएनन् ।

विसं २०३३÷३४ तिर राजतन्त्र विरोधी पर्चा देशव्यापी रुपमा छरियो । बलेवाका तीन गाविसमा म, वेदनिधि र भूमिश्वर शर्माले रातभर छरेका थियौं । पर्चा छर्ने साँझ तीनैजना डिल्लीकोमा जम्मा भयौँ । अबेरसम्म गफ भयो । उनको घरमै सुतियो । राति ११ बजेपछि लुसुक्क उठियो । रातभर तीनवटै गाविसमा पर्चा टाँसियो । बिहान सँगै उठियो । हाम्रो रातिको काम कसैले पत्तै पाएन । भोलिपल्ट जुकेको चौतारीको पर्चामा डिल्लीको आँखा प¥यो । निकालेर सँगै पढ्दै स्कूल गइयो । हामी पयुँपाटा स्कूलका शिक्षक थियौँ, त्यतिबेला । पर्चा कसले टाँस्यो भन्ने चर्चा भयो । मलाई शंका गर्न थालेका थिए । अञ्चलाधीस कार्यालयबाट सोधपुछ गर्न आयो । मैले म त डिल्लीप्रसादसित सुतेको थिएँ भने । उनले पनि मेरै घरमा हामी सँगै सुतेका थियौं भनेपछि जोगियौँ । तर पनि शंका हामीलाई नै गरियो ।

डिल्लीप्रसद शर्मा र मेरो जीवनको उर्जा शील समय पैयुपाटा स्कूल बनाउन बित्यो । हाम्रो चोखो सेवा र लगानीको पुरष्कार अपमानित भएर निस्कनु प¥यो । मेरो १८ वर्षको स्थायी शिक्षक सेवा त्रिभुवनमावि व्यवस्थापक समितिले खाइदियो । डिल्लीप्रसाद शर्मालाई निस्कन वाध्य पारियो । आखिर अमलाचौर बाट जाने शिक्षक विद्यार्थी अर्घेलाभए । यो तीतो सत्य हो इतिहासको ।

२०३९ सालमा अमलाचौरमा हाईस्कूल खोलियो । जनताको समर्थन रह्यो । पञ्चायतको विरोध भयो । पयुँपाटाले विरोध ग-यो । विरोध मन्त्रालयसम्म पुग्यो । अस्थायी अनुमतिका लागि क्याविनेटसम्म पुग्नु प¥यो । त्यसका लागि म र डिल्लीप्रसाद समेतका व्यक्ति लडियो । सफल पनि भइयो । पञ्चायत असफल भयो । त्यसैकारण म भूमिगत हुनुप¥यो । डिल्लीप्रसादको जागिर गयो । संघर्ष अग्रगमन र पश्चगमनका लागि थियो । आखिर पञ्चायतको पनि अन्त भयो । पञ्चायत गयो , पञ्चायती विरासद भने पछि सम्म बाँकी नै रह्यो ।
पछिल्लो काल खण्डमा पृथ्वी मावि अमलाचौरलाई उमावि बनाउन फेरि हामी नै अग्रसर हुनु प¥यो । डिल्लीप्रसाद शर्मा प्राचार्य भए । गाउँको छोटो संकीर्ण राजनीतिक विरासदद्वारा पटक पटक त्यहाँ पनि प्रताडित भए ।। डिल्लीप्रसाद शर्माको आधा शताब्दी भन्दा लामो समय शिक्षाका लागि संघर्षमा वित्यो । उनले समाजबाट केही लिएनन् बरु हाम्रो समजले उनको ज्ञान र क्षमताबाट प्रसस्तै फईदा लिन चुकेन । उनी हामी सवैका गुरुहुन् । गुरुको आदर र सम्मान हाम्रो संकार र संस्कृति हो । इतिहासलाई बिर्सनु हुँदैन र इतिहासप्रति अन्याय पनि गर्नुहुँदैन ।
डिल्लीप्रसाद हाम्रो वंशको सुकिलो नक्षेत्र हो । उनको लगन, इमान र सेवालाई धमिल्याउन निरन्तर प्रयत्न भयो । हिरामा हिलो दलिए पनि हिरै हुन्छ । समाजले व्यक्तिका योगदानको उचित कदर र सम्मान गर्न सक्नुपर्छ । विचार, व्यवहार र शैली र स्वभाव व्यक्तिका अलगअलग हुन सक्छन् । तर समाज परिवर्तनका लागि गरेका योगदानको सधैं सम्मान गर्नुपर्छ । डिल्लीप्रसाद शर्माको योगदान अविस्मरणीय छ ।

डिल्ली प्रसाद शर्माले चोखो मन र शुक्ल कर्मले हाम्रो आँखा खोलिदिए । अशिक्षा र अज्ञानताको अँध्यारोबाट हाम्रो समाजलाई उज्यालोमा पु¥याउन अतुलनीय योगदान दिए । अग्रज गुरुप्रति आग्रह साँचेर कृतध्न हुन म सक्दिन । योगदान र इतिहासको खुला दिलले सम्मान गर्न सक्नुपर्छ । उनको उचाई नाप्न आजको धरातलमा टेकेर होइन, हिजोको परिवेश र परिस्थितिको गजमा उभिएर विचार गर्नुपर्छ । उनको युगमा उनले जे जति योगदान दिए त्यो उचाई अहिले नाप्न सकिदैन । उनी सधैं हाम्रो समाजको शिखर व्यक्तित्वको रुपमा स्थापित छन्, रहिरहनेछन् ।