सम्झौताको राजनीति

समाज अग्रगामी छ । राजनीति यथास्थितिवादी पश्चगामी । समाज छलाङ् मारेर अगाडि जान चाहन्छ । समाजले अग्रगमनको वकालत गर्छ । अग्रगमनका लागि विश्वमा ठूलठूला क्रान्ति हुँदै आएका छन् । राजनीतिले भने यथास्थितिको पक्षपोषण गर्छ । समय अग्रगामी छ । राजनीतिले समयको प्रवाह रोक्न प्रयत्न गर्छ । समयको छाललाई बाँधेर केहीबेर रोकिएला सधैं सम्भव छैन । समाज प्रतिकुल राजनीतिको बाँधलाई समायले र समाजले भत्काउँदै अगाडि बढ्छ । यही अन्तरविरोधको बीचबाट राजनीतिक प्रणालीको विकास हुँदै अगाडि बढेको छ ।
प्रसिद्ध वैज्ञानिक आइन्स्टाइनले आफ्नो आत्मवृत्तान्तमा ‘राजनीति कहिले पनि समाज अनुकुल हुँदैन’ भनेका छन् । उनी राजनीतिज्ञ थिएनन्, तर राजनीतिको वैज्ञानिक सारतत्व विश्व राजनीतिक रंगमञ्चमा पेश गरे । विश्व राजनीतिक इतिहासको आजसम्मको अध्ययन र अनुसन्धान पछिको वैज्ञानिक निस्कर्ष हो यो । विश्व राजनीति जति पनि उतारचढाव र परिवर्तन भए पनि त्यसमा जनताको खुशी र सन्तोष समेटिएको छैन ।

परमाणु वैज्ञानिक आइन्स्टाइन जीवनभर अध्ययन अनुसन्धान र वैज्ञानिक परीक्षणमा समय बिताए । परमाणुको सबभन्दा सानो इकाईभित्र असिमित गतिशिल उर्जाशक्ति हुन्छ भन्ने पत्ता लगाए । उनको नयाँ आविस्कारको दुरुपयोग गरेर पेन्टागनले हिरोसिमा र नागासाकीमा एटम र परमाणु बम पड्काएर लाखौं जापानीलाई एकै चिहान बनायो । परमाणु भित्रको गतिशिल उर्जा उत्सर्जन गर्न सफल वैज्ञानिक आइन्स्टाइनले मानव चेतनाभित्र पनि त्यसै प्रकारको उर्जा अन्तरनिहित छ भन्ने सन्देश दिए ।

नेपालको राजनीतिक आन्दोलनको पछिल्लो शताब्दीको इतिहासको अध्ययनले पनि त्यही कुराको पुष्टी गर्छ । नेपालको राजनीति कहिले पनि नेपाल राष्ट्र, नेपाली जनता र नेपाली समाज अनुकुल हुन सकेन । नेपाली जनताले अग्रगमनको पक्षमा इतिहासको विभिन्न कालखण्डमा क्रान्ति गरे । प्रतिगामीहरुले क्रान्तिका उपलब्धीलाई समाप्त गरे ।

दिल्ली सम्झौताले २००७ सालको आन्दोलन टुंग्याइदियो । जनताले क्रान्ति गरे । नेतृत्वले सम्झौता गरेर परिवर्तनका एजेण्डा तुहाउने काम भयो । राणा, राजा, भारतीय दरबारको शक्तिसन्तुलन र स्वार्थ केन्द्रित थियो दिल्ली सम्झौता । संविधानसभा थला पर्यो । ०१५ को आम निर्वाचन प्रतिगामी निरकंशताको कारक बन्यो । समय र समाजले परिवर्तन खोज्यो । सत्ताले निरंकुशता लाद्यो । नेपालको राष्ट्रिय राजनीतिको आधा शताब्दी त्यसरी नै बित्यो । ०९७ सालका शहीदले बगाएको रगतको अपमान र अबमूल्यन भयो । नेपालको राष्ट्रिय राजनीति नेपाली समाज अनुकुल हुन सकेन ।

०४६ सालमा समाजले परिवर्तनका लागि अर्को कुर्वानी गर्यो । पञ्चायत गयो । सामन्ती राजतन्त्रसित सम्झौता भयो । संविधानमा प्रतिगमनकारी छिद्रहरु खोपिए । तरल राजनीति चुहियो । मोटो सामन्ती राजतन्त्र र सामन्तवाद चाल्नोमा थिग्रियो । संविधान नेपाली जनभावना र समाज अनुकुल भएन । फेरि पनि आन्दोलनकारी शक्ति ठगियो । सत्ता साझेदारी र स्वार्थका लागि सामन्तवादको पाउनमा टोपी राखेर प्रतिगामी र यथास्थितिवादी शक्तिहरुले भागवण्डा गरे । राष्ट्रिय अर्थतन्त्र धरासायी भए । उद्योगहरु निजिकरण र बन्द गरिए । मजदुर बेरोजगार भए । अर्थतन्त्र चौपट भयो । दलाल र नोकरशाह वर्ग मालामाल भयो । फेरि पनि ०४६ साल पछिको राजनीतिक परिवर्तन समाज अनुकुल भएन ।

०५२ सालबाट सुरु भएको जनयुद्धले पुराना सामाजिक सम्बन्धलाई भत्काई दियो । प्रतिगामी यथास्थितिवादी शक्ति हायलकायल भयो । पुरानो सत्ताका अंशियार भित्र अन्तरविरोध चर्क्र्यो । दरबार हत्याकाण्ड भयो । सत्ताभित्रको अन्तरविरोध चुलियो । निरंकुशता हावी भयो । माओवादीसित १२ बुँदे समझदारी गर्न बाध्य भयो । जनयुद्धको जगमा १९ दिने जनआन्दोलने दिल्ली सम्झौता कार्यान्वयन गर्न सफल भयो । अन्तरिम संविधान बन्यो । गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी समानुपातिकको व्यवस्था भयो । आफ्नो सत्ताका प्रतिगामी तथा यथास्थितिवादी अंशियारले परिवर्तन चाहेनन् । त्यही तत्व कहिले सत्ता साझेदार त कहिले प्रतिपक्ष बन्यो । परिवर्तनका एजेण्डा भनौं वा जनयुद्ध र जनआन्दोलनका उपलब्धी संस्थागत गर्न त्यो शक्ति नै बाधक बन्यो । ०६२÷०६३ को आन्दोलन पनि सम्झौतामा टुंगियो । राजतन्त्रको अन्त भयो । नयाँं रजौटाको उदय भयो । पछिल्लो चुनावमा त्यो शक्ति हावी भयो । संविधान कार्यान्वयनको एजेण्डा थला पर्यो । नेपालको राष्ट्रिय राजनीतिले यसरी नै गोलचक्कर काट्दै आएको छ । नेपाली राजनीति अलबर्ट आइन्स्टाइनको वैज्ञानिक निचोड ‘राजनीति समाज अनुकुल हुँदैन’ भन्ने सत्य सिद्ध सावित भएको छ ।

कोट पुरानो हुन्छ, फेर्नु पर्छ । विचार पुरानो हुन्छ, बदलिनुपर्छ । पुरानो विचारले नयाँ युगको नेतृत्व गर्न सम्भव छैन । सामन्तवादलाई सलाम मारेका हातहरु जनताका अगाडि उठ्न गा-हो भएको छ । अहिलेको राजनीति सम्झौताको राजनीति हो । पश्चगामी तत्वसित सम्झौता गरेर अग्रगामी एजेण्डा स्थापित गर्न सम्भव छैन भन्ने कुराको हेक्का आन्दोलनकारी शक्तिहरुले राख्नै पर्छ । ०७ सालका एजेण्डा कांग्रेसले संस्थागत गर्न चार दशक जीवनमरणको संघर्ष गर्नुपरेको इतिहास हाम्रै अगाडि छ ।

आइन्स्टाइनको भनाइ विश्व राजनीतिमा पनि लागु भएको छ । विश्व राजनीतिक परिस्थिति संकटपूर्ण अवस्थाबाट गुजे्रको छ । अमेरिकी लोकतन्त्रले त्यहाँका जनताको अपेक्षा पुरा गर्न सकेको छैन भन्ने कुरा पछिल्लो चुनावी परिणामले पुष्टी गर्छ । युरोपियन युनियनबाट अलग हुने वेलायती जनताको जनमतले विश्वभरिका शासक गुटलाई स्तब्धित बनाएको छ । समय बदलिन्छ । समाज परिवर्तन हुन्छ । आर्थिक सामाजिक सम्बन्धमा पनि परिवर्तन हुन्छ । त्यसैअनुसार पुरानो राजनीतिक प्रणाली थोत्रिन्छ । थोत्रा राजनीतिक प्रणाली बोकेर नयाँ युगको नेतृत्व हुन सक्दैन । पुरानो हठ पालेर नयाँ युगको नेता बन्न सम्भव छैन । मृत लासमा सास भर्न विज्ञानले पनि सक्दैन ।

नेपालमा प्रतिगमनकारी शक्ति र अग्रगामी सोचका बीच कडा टक्कर छ । अहिलेको राजनीतिक गत्यावरोध त्यसकै परिणाम हो । अग्रगामी विचार सधैं कमजोर बनेको इतिहास हो । वीपी र पुष्पलालको अग्रगामी विचार कमजोर बन्यो । आफ्नै जीवनकालमा अपेक्षित परिवर्तनको अनुहार देख्न पाएनन् उनीहरुले । गणेशमान र गिरिजाको लोकतन्त्र बचाउन गा¥हो पर्यो प्रतिगामीबाट । जनयुद्धका उपलब्धी रक्षाको संकट परेको छ प्रचण्डलाई । यो इतिहासको विडम्बना हो । महेन्द्रले राष्ट्रियताको प्रतिगामी घोडा चढेर सीमित लोकतन्त्र मासिदिए । संघीयता विरोधी तत्वहरु उही बुढोघोडा चढेर सवार भएका छन् । सबै लोकतन्त्रवादीहरुलाई अराष्ट्रिय भनेर सरापिन्थ्यो । अहिले सबै संघीयता, गणतन्त्र, समावेशी समानुपातिक भन्नेहरु छिमेकीका अरौटे भनेर आक्षेप लगाईंदैछ । संघीयताविरोधी राष्ट्रवादको नाराले आन्तरिक राष्ट्रियतालाई खण्डित गर्ने र सत्तासाझेदारीको भिख माग्ने झोली सिवाय केही होइन । ढोंगी र भोगीहरु नेतृत्वमा पुगेपछि देशले दुःख पाउँछ । इतिहासमा त्यही भएको छ । महेन्द्रको घोडामा सवार हुनेले अझै चर्चदैछन् नेपालको सत्तालाई । त्यसैले परिवर्तन संस्थागत गर्न त्यति सजिलो छैन अग्रगामी आन्दोलनका अगुवालाई ।

नेपाली जनक्रान्ति निर्णायक हुन सकेन । नेपाली जनताका निर्णायक क्रान्तिमा दक्षिणको सेपिलो हावाले हिर्कायो । प्रत्येक आन्दोलनलाई यथास्थितिसँग सम्झौता गर्ने बाध्य भयो । नेपालका लागि यो दुर्भाग्य हो । खुलासिमाबाट छिरेको आन्दोलन विरोधी भुर्ईकुहिरोले इतिहासका निर्णायक क्षणमा सताउँदै आएको छ । त्यसैले क्रान्तिलाई निर्णायक बनाउन सकेनन् जनताले ।

प्रत्येक क्रान्ति पछि जनता परिवर्तनको अनुभूति गर्ने अपेक्षा राख्दछन् । दुरुह दैनिक जीवनमा केही राहतको सास फेर्न चाहन्छन् जनता । शान्ति र समृद्धि साझा चाहना बन्छ । सामाजिक भेदभावको अन्त, न्याय, सामाजिक सद्भाव र सम्मान उत्पीडित पक्षका अपेक्षा हुन् । प्रत्येक राजनीतिक परिवर्तनले जनतको मनोभावनामा सकारात्मक सन्देश दिन सकेन । आजभोलि जनता राजनीतिक खिचातानीबाट आजित भैसकेका छन् ।

राजनीति कहिले पनि समाज अनुकुल हुँदैन भन्ने कुरा पुँजीवादी राजनीतिक प्रणालीमा सार्वभौम सत्य हुँदै गएको छ । पश्चिमा लोकतन्त्र र समग्र राजनीतिक प्रणालीलाई पुनःपरिभाषित र परिमार्जित गर्नुपर्छ भन्ने तर्क पश्चिमा विद्वानहरुले भन्न थालेका छन् । पुँजीवादी विश्वमा पछिल्लो चरणमा देखा परेको आर्थिक मन्दी र संकटले पनि पूँजीवादी विश्व राजनीतिक धरासायी हुँदैछ भन्ने संकेत गर्छ । अग्रगामी आर्थिक राजनीतिक प्रणालीले सामाजिक रुपान्तरणलाई सुनिश्चित गर्नसक्नुपर्छ । नेपालका क्रान्तिकारी आन्दोलनले त्यो मान्यतालाई संस्थागत गर्न सकेका छैनन् । राजनीतिक परिवर्तनको अर्थ सामाजिक रुपान्तरण हो । पुरानोसित सम्झौता होइन सम्बन्ध विच्छेद अनिवार्य सर्त हो । हाम्रो सन्दर्भमा प्रतिगमनसितको अनिवार्य बाध्यता भएको छ । त्यसैले राजनीति कहिले पनि समाज अनुकुल हुँदैन भन्ने आइन्स्टाइनको भनाइ सही र सत्य सावित भएको छ ।

थोत्रो विचारले नयाँ राजनीतिको लाज ढाक्न सक्दैन । गतिशिल नेतृत्व युगको माग हो । निर्णायक क्रान्तिले पुरानो संरचना नभत्काएका देशको स्थिति यस्तै हो । पुरानोसित सम्बन्ध विच्छेद नै युगको माग हो । अहिलेको गत्यावरोध सम्झौताको राजनीतिको परिणाम हो ।