कम्पुटोल
बिहान शितल छ । चरीको चिरिविरीले बिहान ब्यू“झदै छ । खाली सडकमा कताकती हुँईंके पनि बिहानी निखरता बिथोलिएको छैन । जाँगरिला मानिसहरु स्वास्थ्य बनाउन फाट्टफुट्ट निस्कदै छन् । बजारबाहिर छेउछाउका दलित वस्त्ीतिरबाट बुढाबुढीको खाँक्कखुँक्क सुनिँदै छ । पारी पखेराको गाउँतिर भाले बासेको मधुरो स्वर कानमा ठोक्किँदै छ ।
बिहानमा निस्कने बानी, साढे चारै बजे उठें । नित्यकर्म सकेर सहयोगीलाई उठाउँदै एकपटक चारैतिर हेर्न छतमा चढें । उत्तरतिर आँखा दौडाएँ । मेरो धौलागिरीको दर्शन गरेँ । बिहानै भएकाले अझै मेरो हिमाल खुलेको छैन । अनि चारैतिर घुमाउँदै युगौंदेखि गजधम्म बसेका शैलशिखरतिर नजर डुलाएँ । मेरो हिमाल खुलेको छैन । डाँडा पखेरोमा भर्खरै पूर्वबाट उज्यालो पोखिँदै छ । मैले पाउजाकोटरित हेरेँ, मालिकाको लेकतिर नजर पुग्यो, सिँगानको धुरीतिर बैंशमा लाली गुराँससित प्रिति लगाएको सम्झेँ र एकपटक औधि रमाएँ ।
तल ढोका खुल्यो, बाहिर निस्केँ । बागलुङ बजार र तित्याङ् जोड्ने लामो र अग्लो पुल बनेछ भन्ने समाचारले मलाई एकवर्षदेखि उद्देलित गरेको थियो । म पुल बनेपछि पनि निकै पटक बागलुङ गएपनि पुल तर्ने इच्छा पुरा भएको थिएन । आज मेरा बिहानी घुमाई त्यतैतिर सोझिएको थियो ।
मलाई मेरा डाँडा पखेरालाई धित मर्नेगरी हेर्न कहिले फुर्सदभएन । सधैं हतार सधैं आत्तुरी पात्तुरी, खाईखुई कहिले छोडेन । जतिखेर पनि जहाजै डुब्यो कि भनेझैं गरेर कुद्नुपर्ने तर यात्रा जहाँको तहीं भएजस्तो लाग्छ । एउटा युगको अन्त हुन्छ । नयाँको थालनी सँगै झन बढी सक्रियताको माग हुन्छ । डाँडापखेरा कुदिएकै छ । तरपनि आफु घुमेको परिवेश मन फूकाएर हेर्ने कहिले साइत जुरेन । त्यसैले एकमहिनादेखि आजको दिन सबै बिर्सेर पारि तित्याङसम्म पुग्ने साइत जुराएको थिएँ । मेरो फूर्सद बिहान मात्र हो । दिन मेरा हातमा छैन । एउटा क्यालेण्डरमा दिन कुदेको छ र मेरो दिनचर्या भित्ताको सेकेन्ड र मिनटसित दौडिरहेका छ । मेरा प्रत्येक पाइलाहरु त्यसैगरी अगाडि बढेका छन् ।
बागलुङ बजारको दक्षिणी किनार डरलाग्दो भिरमा पुरेर टुंगिन्छ । काँठेखोला युगौंदेखि निकै तल अबिराम गतिमा बगिरहेछ । कालीगण्डकी भेट्ने लक्षमा पुग्न उसलाई पनि मलाई झैं सधैं हतार छ । काँठे सुसाएको सुमधुर स्वर ढिकतिर बस्नेरुले मात्रै निशुल्क सुनेर आनन्द नि सक्छन् । पैसाको छनछन् आवाजमा आनन्द मान्ने आदतीको कानमा नदी नालाहरुको संगीत कहिले कहिले कानमा पर्दैन ।
भक्तपुरबाट व्यापार व्यवसायको खोजीमा गएको नेवा समूदायले बागलुङ बजारमा बसाउन योगदान पुर्यायो । बजारबाहिबाट आउनेलाई काठे भनिन्छ । बिहुँ, धम्जा, तङ्ग्राम र काँठतिरबाट आउने भएरनै होला काँठेखोला नाम भएको भन्ने लख काट्दै म अगाडि बढेँ ।
उसबेला माइस्थान हुँदै छेउछाउको बाटो भएर बजार पस्ने मुखैनेर बसपार्क बनेछ । बसपार्क नजिकैको ढिकबाट तित्याङ जोड्ने पुल बनेको रहेछ । पुल निकै लामो र अग्लो छ । तित्याङको ढिकबाट तल झरेर बागलुङ बजार पुग्न करिब पौने घण्टा लाग्ने बाटोलाई पुलले पाँचमिनेटको यात्रामा कैद भएर पुलबाट तलमाथि वरपर हेर्दै पारि पुगियो । पुलको मुखैनेर अलि माथिको चौतारीमा बसेर पाखापखेरातिर आँखा लगाएँ । जतिहेरे पनि मन अघाएन । सालवोटको चौतारीमा बसेर एकाबिहानै चारैतिर नजर लगाएँ । बागलुङ बजारमाथिको पखेरोतिर, तित्याङ भकुण्डे र सिँगानातिर । कालीकामाईको मन्दिरवरपरका भीमकाय सल्लाका बोटवरपर चारैतिर ।
तल काँठेखोलाको संगमनेर कालीगण्डकीले अतिकाति अनुहार देखाएको छ । हिजो साँझ पानी पर्यो । आकाश सफा छ । लहलह मकैका रसिला फाँटले मन उतै लोभ्याएको छ । किसानको पसिनाले सिंचेका फाँटहरु हराभरा छन् । प्रकृतिको मनोरम छटाभित्र आनन्दको बहार छ आत्मसात गर्न सक्नेका लागि । गाउँ शान्त छ । गाउँभरखरै ब्युँभिँदै छ । जाँगरिला बुहारीहरु उठेर घर आँगन सफा गर्ने दिनचर्यामा लाग्दैछन् । बिहानीको निखरता बिथोलिँदै छ । अलिमाथि मन्दिरमा भजनको क्यासेट चर्कैस्वरमा घन्केको छ । हाम्रा गाउँघररित मन्दिरमा पनि भारतीय संस्कृति छिरेछ भन्ने अनुभूति हुन्छ । मन फुरुङ्ग छ । चराहरुको कलखले पाखो गुन्जायमान छ । बसन्तको बहार छाएको ।
झण्डै ४० वर्ष पहिलाको याद आयो । शिशिरको साँझ यो चौतारीमा बसेर हामी दुबैजनाले पसिना पुछ्दै सुस्ताएका थियौं । दशैंको टीका थाप्न ससुराली हिँडेका जोडीलाई बाटोमा निकै अबेर भैसकेको थियो । काखमा ठूली छोरी थिइन । सरलाले कोसेली पात बोकेकी थिइन । निकै थकित थियौं दुबैजना ।
बैंश चढ्दै थियो । पूर्व क्षितिजबाट शितल छर्दै जुन झुल्केर माथिमाथि चढ्दै थियो । जुनको पहेंलो किरण मेरो चन्द्राको अनुहारमा पोखिँदा अचम्मै राम्री देखेको थिएँ । उनको रुप र मधुरस्व्रले रोमाञ्चित बनाएको थियो । अबेरभएप्नि एकान्त चौतारीमा निकैबेर सुस्ताएर हामी हिँडेका थियौं ।
आज म बसेको चौतारीले मेरो बैंशको एक साँझ साक्षी बनेको सम्झेर मेरो मन त्यसैत्यसै रोमाञ्चित भएको कुरा मैले मेरो परिचय माग्ने कोइलीलाई भन्न सकेको छैन । अतितलाई सम्झिँदै निकैबेर बसेँ । सम्झनाकालागि फोटोहरु खिचेँ । हिँड्न मन नभएपनि समयले पर्खेन् । फर्किदै गर्दा मलाई पुरानो बागलुङबजार घुम्न मन लाग्यो । पुरानो बजारतिर नछिरेको २८ वर्ष बितेछ । पञ्चायतले ०४२ सालमा भूमिगत पठाएपछि बजार छिर्ने मौका मिलेन ।
झोलुंगे पुलको छेउछाउ पसल छैन । दलितवस्ती उतिबेलाको जस्तै छ । बजारको ढिकतिर लहरै सुकुम्बासीका टहरा छन् । टहरा अझै सुतेको छ । टहराको मनुवालाई भाले नबसिदिएहुन्थ्यो भन्ने छ । एकथरी मानिस उज्यालोको खोजीमा छ । अर्कोथरी उज्यालोदेखि तर्सिएको छ र भाग्दैछ । घरमा सधैं लोडसेडिङ छ । बाहिर उज्याले भएपनि मन सधैं अँध्यारो छ ।
गरीबका लागि बिहान अभिसाप हुन्छ । कुखुरीकाँको डाँकोसित भुराभुरी अरु सुुरु हुन्छ । वचेराको मुखमा चारो हाल्ने उपाय भएकाहरु कहिले नब्युँतिने लामो निद्राको खोजी गरेको हुन्छ । सायद त्यसैले होला गरिबबस्ती शान्त छ । भोको पेट तङ्ग्रन सकेको छैन ।
बिहान प्रकृतिसित मित गाएर प्रफुल्ल बनेको मन सुकुम्बासी बस्तीको दृश्यले एकाएक क्षुब्ध बन्यो । म एकपटक टोलाएँ । अगाडि बढ्दै गएँ । मिलाएर ढुंगा छापेको गल्ली सधैं सफा देखिन्थ्यो । बलेवातिरको मुख्य व्यापारिक नाका त्यही थियो । चियापसल, मिठाइपसल, सानातिना होटलहरु, माल, अदालत, शिक्षा कार्यालय, हुलाक समेत सबै सरकारी कार्यालयहरु त्यतै थिए । मानिसको चहलपहल आवतजावत निकै बाक्लो थियो । उतिबेलाको त्यही चित्र दिमागमा कोरेर कम्पुुटोलतिर लागेँ ।
कम्पुटोल एउटा युगको बिरासद् बनेछ । एकपटक शक्तिकेन्द्र, आज उजाड र निरिह बनेको छ । त्यहीँ बसेर धन आर्जन गर्नुहरु भग्नवशेषमा बदलिँदै गएको देखेर उराठ लाग्यो । सत्ता ढलेको दरबार, गजुर ढलेको मन्दिर, शक्ति ढलेको नियती आखिर भग्नावशेष सिवाय अरु के हुनसक्छ ।
युगलाई पनि बैंश आउँछ । कम्पुटोलको बैंशालु युग बितिसकेछ । चालु जवानीमा सबै झुम्मिन्छन्, फूलमा भँवरा झैं । बैंश ढलेपछि सबै पराइ हुन्छन् । बैश ढलेको छ कम्पुटोल आज दाँत फुक्लेको बुढाको नियती थामेर बसेको छ ।
०१५ सालतिर मलाई मेरै गाउँमा गणित र ऐनश्रेस्ता पठाउने गुरुको घर भत्किदैछ । शिक्षक आन्दोलनका सहयात्री मित्रको घर पनि बिरानो भएको छ । सर्वोच्चका श्रीमान कल्याण श्रेष्ठको घर पनि त्यतै थियो । पुरानो कम्पुटोल यथावत छ । एकदुई वटा घरले अलिकति रुप फेरि पनि नियती उस्तै छ मेरो उतिबेलाको रमाइलो आकर्षणको केन्द्र कम्पुटोलको । बजारउता धान फल्ने खेततिर सरेछ । अगाढि बढ्दै गएँ, एकपटकको ओमप्रसादको घरको अगाडिको चौतारी सामाजिक आर्थिक, राजनीतिक, व्यापारिक र धार्मिक अखडाको रुपमा परिचित थियो । राणाविरोधी आन्दोलनको योजना र विद्रोहको तयारी त्यतैतिरबाट भएको थियो भन्ने सुनेको थिएँ । त्यतातिर पनि घुम्दै पुगें । निर्जन मृत शहरजस्तै लाग्यो । उतिबेलाको सफा सडकमा पिपलका पात फोहोर र प्लाष्टिक छरिएको देखेर दिक्क लाग्यो । बजार सुतेकै छ । घरहरुभित्र मानिस छन् कि छैनन् थाहा भएन ।
मेरा बा का अनन्य मित्र बस्ने माथिल्लो गल्लीको बाटोमा गएँ । केटाकेटीमा म बासँग आउँदा बस्ने घर हेरेँ, कसैलाई देखिन । छोराहरु बुटवल पोखरा काठमाडौंका धनाड्य बनेका छन् । पुरानो बागलुङ बजारलाई मन फुकाएर हेरें, त्यस बिहान । अझै धित मरेको छैन । एकदिन पुराना इस्टमित्रलाई भेटेर पुरानो बजारको उत्खनन् गर्न मन छ । पुरानो समयको चित्र जस्ताको तस्तै उतार्न सम्भव छैन ।
मेरो जमानाको बागलुङ बजारलाई बढौलि लागेछ । कम्पुटोलको बैंश ढलेछ । शाक्ति केन्द्र सरेछ । विज्ञान भन्छ नयाँले पुरानोलाई विस्थापित गर्छ, निषेध गर्छ । निषेधको निषेधलाई आज भोलि रुपान्तरण पनि भन्छन् । मेरो बागलुङमा उतिबेला पाइने बुट्टेदार निगालाको कलमलाई आजभोलिको किसिमकिसिमका डट्पेनले निषेध गरेको छ । कम्पुटोललाई सहिदचोक, क्याम्पसचोक के के ले विस्थापित गरेको छ । पुरानो पछि पर्छ नयाँ अगाडि आउँदै जान्छ । कम्पुटोलको तीन दशकपूर्वको रौनक अब कहिले फर्केर आउने छैन । युग फर्किदैन । जवानी फर्किदैन । यो नियम हो, प्रकृतिको यो नियतीको समयको ।
यसपटक युरोप भ्रमणको सन्दर्भमा रोम पुगेँ । रोम शहर एक दिनमा बनेको थिएन भन्ने भनाई सम्झें । पुरानो रोम भग्नावशेषमा बदलिँदै गएको देखेर दिक्क लाग्यो । इटलीमा आर्थिक मन्दी लागेछ । पुराना इमारतहरुको मर्मतसंभार गर्न सक्ने हैसियत न राज्यको छ, न व्यक्तिको । रोजगारी र आर्थिक उपार्जनका लागि मानिसको पलायन सुरु भएछ । पोर्चुगल वा स्पेनको संकट पनि एउटै छ । एकयुगमा संसारमा सबभन्दा धेरै देशमा उपनिवेश कायम गर्न सफल पोर्चुगलका गल्लीहरु खाली हुँदैछन् भन्दै नेपाली मित्रले सुनाएको कथाले मलाई अनौठो लागेको थियो । आखिर युरोपले पनि कुनैदिन कम्पुटोलको नियती नभोगी सुखै छैन । युरोपबाट विकासको गति एशियातिर सर्दै गएको कुरा हाम्रा छिमेकी चीन भारतसमेतका एशियाली मुलुकको विकासले देखाउँदैछ ।
आखिर मितिपुगे पछि शक्तिकेन्द्र ढल्छ र इतिहास फेरिन्छ । भारतबाट अङ्ग्रेज धपाइयो । नेपालमा राणाशाही र राजतन्त्र ढल्यो । आजको विश्व साम्राज्यको केन्द्र अमेरिका पनि मिति पुग्दाको दिन मेरो कम्पुटोलको नियती भोग्नुपर्नेछ । यो कसैको आग्रह होइन, विज्ञानको नियम हो । मनमा यस्तै यस्तै गुडुना खेलाउँदे आज बिहानको घुमाई पुरा गरें ।
साहित्ययात्राको अभियान थालेको अक्सफोर्ड इन्टरनेशनल र शमीसम प्रकाशनको आयोजनामा साहित्यिक अन्तरक्रियाका लागि प्रदीप नेपाल, श्रीओम श्रेष्ठसहितको टोली हिजै बागलुङ आइपुगेको छ । धवलागिरिका स्रष्टाहरु अन्तरक्रियामा सामेल हुँदैछन् । मलाईपनि आजको दिन राजनीतिक हलोलाई थन्काएर कलमकापी बोकेर कार्यक्रममा सामेलहुने साइत जुरेकोमा फुरुङ्ग छु । एकपटक फेरि स्रष्टाको बीच केही समय बिताउने अवसर मिलेको छ । मूधन्र्य साहित्यकार, अध्येता, अनुसन्धानकर्ता प्रेम छोटाको सत्तरीऔं वर्ष प्रवेशको अवसर पनि आजै परेछ । मेरो दास्रो निबन्ध अक्षरको खेती र प्रदीप नेपालको चरैवती चरैवतीको समीक्षा पनि आजै हुँदै रहेछ ।
स्रष्टाको बीच चार घण्टा बिताउँदा औधी आनन्द लाग्यो । मैले मञ्चमा बस्दैगर्दा बाल्यकालमा मैले लेख्ने गरेको बुट्टेदार निगालाको कलम र नेपाली कागल सम्झेँ । बुट्टा भरेको नली, निगाले कलम र कागजका लागि मेरो जिल्ला निकै प्रख्यात थियो । कम्पुटोलको विस्थापनसँगै ती उत्पादन लोप हुँदै गएकोमा चिन्ता लाग्या । स्रष्टाको सम्मान, कला, संस्कृतिसित पनि जोडिएको छ ।
राजधानीबाट गएका पाहुनालाई बागलुङको चिनो दिन निगालाको कलम खोज्न बागलुङ बजारभरि पठाएँ । कतै पाइएन । मन खिन्न् भयो । मेरै जिल्लामा तयार पारिएको सीप र संस्कृतिको पहिचान दुई वटा निगालाको डाली उपहार दिन पाउँदा मलाई औधी खुशी लाग्यो ।
शुभकामना आदनप्रदान कवितावाचन संक्षिप्त मन्तव्य समीक्षा र टिप्पणीमै समय बितेको पत्तै भएन । कार्यक्रमको समापन पछि मैले विभिन्न जिल्लााट बागलुङ पुगेका स्रष्टाहरुलाई बागलुङ कस्तो लाग्यो भनेर सोधें । सबैले राम्रो भने । तर मलाई भने कम्पुटोलको तस्वीर मेरो दिमागमा नाचिरहेको थियो । मेरा अनन्य स्रष्टाहरु कसैले पनि कम्पुटोलको नियती भोग्नपर्ने छैन भन्ने शुभकामना सहित विदा भएँ ।
३० वैशाख २०७१, गोंगबु आवास क्षेत्र